सूचनाको शक्ति - The Power Of Information

        

संसदीय समितिका सभापतिको उम्मेदवार टुंगो लाग्यो

प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समितिका सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ ।

यसैबीच,संसदीय समितिका सभापतिको उम्मेदवारीका लागि सत्तारूढ र प्रमुख प्रतिपक्षका साझा उम्मेदवारको टुंगो लागेको छ । संसदीय समितिका सभापतिको निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमाले साझा उम्मेदवार उठाउने निर्णय गरेका हुन् ।

जसअनुसार नेपाली कांग्रेसले ४, नेकपा एमालेले ३, नेकपा माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टीले १–१ वटा समितिको सभापतिमा उम्मेदवारी दिने सहमति गरेका छन् ।

कांग्रेसबाट राज्यव्यवस्था समिति सभापतिमा रामहरि खतिवडा,अर्थ समितिमा सन्तोष चालिसे र कृषि समितिको सभापतिमा आरजू देउवाको उम्मेदवारी टुंगो लागेको हो भने माओवादीबाट विकास समिति सभापतिमा माधव सापकोटा र कानून समितिमा विमला सुवेदीको उम्मेदवारी तय भएको छ ।

यस्तै,अन्तर्राष्ट्रिय समितिमा जसपाबाट राजकिशोर यादव र एमालेबाट सार्वजनिक लेखा समितिमा ऋषि पोखरेलको उम्मेदावरी टुंगो लागेको छ । महिला समितिमा एमालेबाटै किरण साहको उम्मेदवारी तय भएको छ ।

त्यसैगरी, उद्योग समितिमा जनमत पार्टीबाट अब्दुल खान र शिक्षा समितिमा एकीकृत समाजवादीबाट भानुभक्त जोशीको उम्मेदवारी टुंगो लागेको छ । प्रतिनिधिसभाका १० र २ वटा संयुक्त समितिका सभापति भने चयन भएका छैनन् ।

प्रतिनिधिसभाका समितिको गठन वैशाख १५ मा भएको थियो । हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतवार १४:१९