बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा जोडिएका दाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुशील वैद्यलाई गृह मन्त्रालयमा तानिएको छ । मन्त्रालयले प्रजिअ वैद्यलाई मन्त्रालयको जगेडामा राखिएको छ ।
मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भुमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उनीमाथि लागेको आरोपबारे छानबिन गर्न सजिलो होस् भनेर वैद्यलाई मन्त्रालय तानिएको हो । उनीसहित हिनामिना प्रकरणमा संलग्न सबैलाई आइतबार अदालतमा मुद्दा तयार गर्ने तयारी छ ।
वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनमा उल्लेख छ । ललिता निवास जग्गा प्रकरणमा सिआइबीले बैद्यलाई फरार सूचीमा रोखेको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौं