कम्प्युटर एसोसियसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्ति ‘नेसनल आइसीटी स्कलरसिप-२०८०’ का लागि आवेदन खुला गरेको छ ।
महासंघले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा छात्रवृत्ति सुरु गरेको हो । छात्रवृत्तिमार्फत यस वर्ष पनि ४९ जना विद्यार्थीहरूलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको महासंघले जनाएको छ ।
‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ मा सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ ।
कम्प्युटर एसोसियसन नेपाल महासंघ र ललर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेजबीच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रूपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् ।
सत्यपाटी संवाददाता । काठमाडौं