सूचनाको शक्ति - The Power Of Information

        

संसदीय समितिको नेतृत्व चयन प्रक्रिया सुरु,आज मनोनयन दर्ता

प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समितिका सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आइतबार दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ । हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।

यसपटक संयुक्त समिति २ र प्रतिनिधि सभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेस ४, नेकपा (माओवादी केन्द्र) २, नेकपा (एमाले) ३, नेकपा (एकीकृत समाजवादी) १, जनमत पार्टीको १ सिटमा दाबी रहेको विषय सार्वजनिक भएको छ ।

प्रतिनिधिसभा नियमावलीमा सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए–गरेका कामकारबाहीका अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन र राय सल्लाह दिनसमेतका लागि संसदीय समिति रहने उल्लेख छ ।

अघिल्लो संघीय संसद्मा प्रतिनिधिसभा मातहतका १०, राष्ट्रियसभाका चार र संयुक्त समितिका रूपमा रहेका दुई गरी १६ विषयगत समितिमध्ये नौको नेतृत्व महिलाले गरेका थिए ।

प्रतिनिधि सभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति रहेका छन् ।

पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिले पनि सोमबार नयाँ नेतृत्व प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतवार ०८:३७