सूचनाको शक्ति - The Power Of Information

        

आज १० अर्बको विकास ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ जारी गर्न लागेको हो ।

यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र सर्वसाधारण नागरिक समेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् ।

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । आइतबार दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र सोमबार निस्कासन हुनेछ । अर्ध वार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ ।

घटीमा ५० हजार र बढीमा कूल निस्कासित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतवार ०७:४१