सूचनाको शक्ति - The Power Of Information

        

आज राति तीन प्रदेशमा भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले आज शनिवार राति कोशी, मधेश र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । शनिवार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । हाल बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशको थोरै स्थानहरू र बाँकी प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको छ । आइतवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । आइतवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा कोशी प्रदेशको केही स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेश र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १८:५६