सूचनाको शक्ति - The Power Of Information

        

भेरीको दूषित पानीले तिर्खा मेट्दै ‘सल्यानी गाउँ’

तीन वर्षअघि सम्पन्न खानेपानी योजना बिग्रीएपछि सल्यान बनगाड कुपिण्डे नगरपालिका–१ का ६० भन्दा बढी घरपरिवार नदीको दुषित पानी पिउन बाध्य छन् । विग्रिएको खानेपानी योजना मर्मतमा स्थानीयहरूले श्रमदान र लगानी गर्न सकेका छैनन् भने सम्बन्धीत निकायको पनि ध्यान पुग्न सकेको छैन ।

उक्त वडास्थित नाम्रावासीले भेरी नदिको दुषित पानी उपभोग गर्दै आएका छन् । स्थानीयहरूका अनुसार खानेपानीको लाइनबाट सिँचाइ कुलो ल्याउँदा पाइप च्यापिएको, ठाउँठाउँमा पाइप फुटेको र केही ठाउँमा जाम लाग्दा विगत तीन महिनादेखि खानेपानी योजना अलपत्र परेको छ । कुनै निकायले २ किलोमिटर खानेपानी पाइप उपलब्ध गराएमा पुनः खानेपानी योजना सञ्चालन गर्न सकिने स्थानीय उपभोक्ता मनिराम विकको भनाइ छ ।

६ किलोमिटर टाढा बनगाड कुपिण्डे नगरपालिका–३ को छिपछिपेदेखि नाम्रासम्म तीन वर्षअघि खानेपानी योजना सञ्चालन गरिएको थियो । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको ४५ लाख र ७ लाखको जनश्रमदान गरी जम्मा ५२ लाखमा खानेपानी योजना सम्पन्न भएको थियो । तीन वर्ष नहुँदै योजना बिग्रिएपछि स्थानीय बासिन्दा पुनः भेरी नदीको पानी खान बाध्य भएका हुन् ।

तीन महिनादेखि फेरि उही तीन वर्ष पहिलेको पुरानो समस्या फर्किएर आएको ७६ वर्षीया खगपति शर्माले दुखेसो गरिन् । उनले भनिन्, ‘बिहे गरी यो ठाउँमा आएको ६० वर्ष भयो । त्यो दिनदेखि भेरी नदीको धमिलो पानी खाँदै आएका थियौँ । गाउँमा योजना आएपछि खानेपानी धारामा आउँदा घरमै खाने, नुहाउने धेरै सजिलो थियो । फेरि योजना बिग्रिएपछि भेरीकै पानी खान बाध्य भयौँ ।’

सग्लो पानी खानका लागि छिमेकी जिल्ला सुर्खेतको सिम्ता जानुपर्ने बाध्यता यहाँका बासिन्दालाई छ । तन्नेरीहरू पारी सुर्खेतको सिम्ता गाउँपालिका–४ बाली खोला व्यक्तिको घरमा गएर पानी ल्याएर खाने गरेको तर आफूहरू बुढेसकालका भइसकेकाले पारी जान नसक्दा भेरी नदीको पानी खान बाध्य भएको रत्ना परियारले बताइन् ।

६ किलोमिटर टाढाबाट खानेपानी ल्याउँदा यसको दिगो व्यवस्थापन हुन नसकेको गंगा प्रावि नाम्राकी प्रधानाध्यापक चित्रकला शर्माले बताइन् । उनका अनुसार घरघर भएको धारामा पानी नआउँदा विद्यार्थी पनि भेरी नदीको पानी खान बाध्य छन् । यता बनगाड कुपिण्डे नगरपालिकाका उपमेयर पुरुषोत्तम आचार्यले भेरी नदीको पानी खाइरहेको आफूहरूलाई जानकारी नभएको बताए । पहिलोपटक जानकारी आएकाले त्यसको सत्यतथ्य बुझेर छिटै शुद्ध खानेपानी व्यवस्थापन गर्ने उनको आश्वासन छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १८:५१