सूचनाको शक्ति - The Power Of Information

        

पूर्वाधार निर्माण नहुँदा नौवस्ता औद्योगिक क्षेत्र अलपत्र

पश्चिमकै ठूलो र पूर्वाधार सम्पन्न नौवस्ता औद्योगिक क्षेत्र बन्ने आशमा ३०० उद्योगीले सात वर्षअघि उद्योग सञ्चालनका लागि आवेदन दिए । आवेदन दिएको सात बर्ष बित्दासमेत औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम शुरु हुन नसकेपछि उद्योगीहरु रुष्ट बनेका छन् ।

निवेदन दिएका उद्योगीहरुको उद्योग खोल्ने योजना चकनाचुर भएको छ भने कतिले ठाउँको विकल्प खोजिसकेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सरोकारावाला निकायका अगुवाहरुसँग आवेदन दिएका उद्योगीले कहिलेबाट उद्योग खोल्ने भन्दै प्रश्न तेर्साउँदै आएका छन् ।

तर सरोकारवाला निकायले बस्ती बिस्तार गर्नेसम्मको हिम्मत देखाउन सकेका छैनन् । बाँकेको आर्थिक क्षेत्रकै रुपान्तरण हुने अपेक्षा सहित प्रस्ताव गरिएको नौवस्ता औद्योगिक क्षेत्र बन्न नदिने षडयन्त्र सुरु भएको छ । कतिसम्म भने अहिले त नौवस्ता औद्योगिक क्षेत्र अन्यत्र सर्ने भन्नेसम्मका हल्ला चल्न थालेका छन् ।

तर औद्योगिक क्षेत्र नै सर्न नसक्ने भए पनि तत्काल निर्माणको काम शुरु गर्न भने मुस्किल पर्ने देखिएको छ । बस्ती बिस्तार नभएसम्म पूर्वाधार निर्माणको काम शुरु नगर्ने कानूनी व्यवस्था देखाउँदै औद्योगिक क्षेत्रले काम शुरु गर्न सकेको छैन । यता राजनीतिक दल र स्थानीय जनप्रतिनिधि प्रभावित क्षेत्रका जनता सम्झाउन लागेको बताउँदै आएका छन् ।

स्थानीय जनतादेखि जनप्रतिनिधिहरु आफुहरु नौवस्ता औद्योगिक क्षेत्रको पक्षमा रहेको बताउँछन् । तर पनि बस्ती बिस्तारको काम यतिका समय बित्दा समेत सकिएको छैन । कतै षडयन्त्रको शिकार भएर नौवस्ता औद्योगिक क्षेत्र सपनामै सीमित हुने हो कि भन्ने चिन्ता र चासो बढ्न थालेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान महासचिव चिरञ्जीवी ओलीले कुनै पनि हालतमा नौवस्ता औद्योगिक क्षेत्र बन्नुपर्ने बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी अधिकारीको अध्यक्षतामा धेरै पटक भएको छलफलपछि अवरोध हटाउनका लागि प्राबिधिक समिति गठन भए । तर कसैले कार्यान्वयन गर्ने हिम्मत गरेनन् । तर बस्ती बिस्तारको उल्झन अहिलेसम्म समाधान हुन सकेको छैन ।

औद्योगिक क्षेत्रको डिपिआर गरेको क्षेत्रभित्र ६४ वटा घरहरु रहेको भन्दै ती घरहरुलाई न्यायोचित तरिकाले व्यवस्थापन गर्न प्राविधिक समितिले सुझाव दिए पनि कार्यान्वयन भएन । उनले सो क्षेत्रमा हाल रहेको ३३८ बिगाह क्षेत्र बढाएर १ हजार बिगाह पुर्याउन सकिने आधारहरु रहेको दाबी गरे । उक्त क्षेत्रमा पूर्व सांसद नन्द लाल रोकायले औद्योगिक क्षेत्र निर्माणका लागि बाँकेबासी एक भएको भन्दै निर्माण पक्रिया सुरु गर्न माग गरे ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १८:४३