सूचनाको शक्ति - The Power Of Information

        

मान्छे लगाएर हत्या गरेको एमाले नेता शाहीको स्वीकार

दानबहादुर शाही र उनले लेखेको म्यासेज, हिंसामा परेकी गीता ।

कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ लुसाका ५५ वर्षीय धनिराम जैसीको २०७७ साल भदौ २८ गते निधन भयो ।

स्थानीय जिते बजारतर्फ गइरहेका बेला भिरबाट लडेर मृत्यु भएका जैसीको लडेर नभई उनकै ज्वाइँ दानबहादुर शाहीले मान्छे लगाएर मारेको स्वीकार गरेका छन् ।

मृतक जैसीकी छोरी गीता जैसीसँग सम्बन्ध राखेकै कारणले शाही र जैसी परिवारबीच विवाद हुँदै आएको थियो । भगवतीमाई गाउँपालिका वडा नं.५ कट्टी, दैलेखका स्थानीय दानबहादुर शाहीले गीता जैसीसँग अवैध सम्बन्ध राखेर एक छोरासमेत जन्माएका थिए ।

उनी कालीकोट सदरमुकाम मान्म बस्दै आएका छन् । माइती पक्षले आफ्नो छोरीको जिम्मा लिन दबाब दिएका थिए । शाहीले गर्भ बसिसकेकाले कान्छी श्रीमतीका रूपमा स्वीकार पनि गरेका थिए । छोरा जन्मेसँगै शाहीले कान्छी श्रीमतीलाई हिंसा गर्दै आए ।

छोरीलाई हिंसा गरेको माइती पक्षलाई मन परेन । गीताका माइती पक्षले हिंसा नगर्न र अति गरे कानुनी निकायमा पुग्ने चेतावनी दिएका थिए । हिंसा बढ्दै गएपछि गीताका माइती पक्षले दानबहादुर शाही (गीताका श्रीमान्) विरुद्ध गीतालाई नै प्रहरीमा उजुरी गर्न लगाएका थिए ।

आफूलाई प्रहरीमा उजुरी गरेको र गीताले पनि अदालतमा अंशवण्डाको मुद्दा दर्ता गराएपछि उनका बुवाको मृत्युको कारण खुलेको हो । शाहीले आफ्नो कान्छी श्रीमतीलाई म्यासेन्जरमार्फत सन्देश पठाउँदै अदालतबाट मुद्दा फिर्ता नलिएमा हत्या गरिदिने भनेका छन् ।

एमाले कालीकोट पार्टी कार्यालय सचिवसमेत रहेका नेता शाहीले गीता जैसीलाई लेखेको म्यासेजमा तेरो बुवाको हत्या पनि आफूले गाउँकै केटा लगाएर भिरबाट धकेलेर गरेको र तेरो हालत पनि त्यस्तै बनाइदिने भनेर धम्की दिएको खुलेको हो ।

उनले धेरै पटक लेखेको म्यासेजमा वकिल, न्यायाधीशलाई किनेको, पैसा भएमा सबै थोक हुने भन्दै तेरो अर्थात् आफ्नै कान्छी श्रीमती र उसबाट जन्मेको छोराको हालत पनि त्यही बनाइदिने भनेका छन् । उनले आफैले जन्माएको छोरालाई पनि मारिदिने भनेका छन् ।

प्यासेन्जरमा लेखेको चेतावनीमा कान्छी श्रीमतीलाई तेरो छोरालाई पनि मान्छे लगाएर मार्छु, ठकुरीको छोरा हो पछि हट्दैन । तेरो छोरा मारेपछि कसरी अंशवण्डा लिन्छेस् भन्दै विभेदकारी शब्दले गालीसमेत गरेको देखिन्छ ।

गीतालाई मुद्दा फिर्ता गर्न चेतावनी दिएको प्रमाणसहित शाहीविरुद्ध प्रहरीमा उजुरी दिए पनि प्रहरीले चासो नदिएको गीता जैसीको भनाइ छ । आफू हिंसामा परेको भन्दै धेरै पटक प्रहरीमा उजुरी परे पनि राजनीतिक पावरका कारणले प्रहरीले बिना कारबाही मेलमिलाप गराउँदै आएका थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १८:००