डुडुवा खोलाको तीव्र कटानका कारण आसपासका गाउँहरू उच्च जोखिममा परेको छ । बाँकेको कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँ र खेतीयोग्य जमिनको कटानका कारण गाउँ जोखिममा परेको हो ।
डुडुवा गाउँपालिका–४ को मिलनचोकबासीहरु डुडुवामा बाढी आउनासाथ घरभित्र कतिबेला पानी पस्ने हो, चिन्तामा पर्नेगरेका छन् । डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष सगीर खाँले कटानका कारण वडाभित्रका बस्तीहरू उच्च जोखिममा परेको बताउँदै नियन्त्रणका लागि प्रदेश र सङ्घ सरकारसँग माग गरिएको बताए ।
खाँले भने, ‘डुडुवा खोलाको कटान निरन्तर र तीव्र गतिमा भएकाले गाउँका धेरै घरहरू उच्च जोखिममा छन् ।’ लुम्बिनी प्रदेश सरकार मातहतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगन्जले डुडुवा खोला नियन्त्रणका लागि गुरुयोजना बनाएको भए पनि पर्याप्त बजेट विनियोजन नहुँदा गुरुयोजना कार्यान्वयन हुन सकेको छैन ।
हालै बाँकेमा आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कटान नियन्त्रणलाई प्राथमिकता दिइने आश्वासन दिएका छन् । बाढी र डुबानबाट जनतालाई जोगाउन आवश्यक पहल गरिने मुख्यमन्त्री चौधरीले बताए । लुम्बिनी प्रदेश सभा २ (१) का सदस्य तथा प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले डुडुवा कटान नियन्त्रणका लागि तत्काल तटबन्धनको आवश्यक भएको बताए ।
मन्त्री यादवले भने, ‘मुख्यमन्त्री पनि सकारात्मक रहनुभएको छ, तटबन्धनका लागि पहल भइरहेको छ ।’ बाँकेमा डुडुवा बाहेक राप्ती नदी, मानखोला, मोरङ्गा खोला र अन्य साना खोलाको कटानले सयौँ बिघा खेतीयोग्य जमिन कटान गरिरहेको छ भने दर्जनौँ गाउँहरू उच्च जोखिममा छन् ।
सत्यपाटी संवाददाता । बाँके