सूचनाको शक्ति - The Power Of Information

        

राजेश्वरीको सुसाइड नोट, ‘सिन्दूर दिन्छु भन्यौँ, मृत्यु उपहार पाएँ’

धनगढीमा बिहीबार मृत फेला परेकी शिक्षिकाको सुसाइड नोट फेला परेको छ । दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएर धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीया राजेश्वरी डडालले आफ्नो मृत्युको कारण प्रेमी नै भएको भन्दै दिदी र आमाको नाममा अन्तिम सन्देश छाडेकी छिन् ।

उनले प्रेमीले आफ्नो श्रीमती बन्न ‘शारीरिक सम्बन्ध’ बनाउन दबाब दिएको समेत उक्त नोटमा उल्लेख गरेकी छिन् । ‘म पनि उसको हरेक कुरालाई साँचो मान्दै गए, उपहार पाए मृत्यु । सबै दिदी ममीलाई धेरै माया गर्छु तर जताउन सकिन । बदनाम भएर पनि म किन बाच्नु हैन र ?’ राजेश्वरीले सुसाइड नोटमा लेखेकी छिन्, ‘सरी दिदी ममी, हजुरहरूको राम्रो चिताउँछु तर मैले के गरे ?’

राजेश्वरी मृत भेटिएको घटनामा २५ वर्षीय जगदीश कोट्टारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । उनका अनुसार चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करिब १५० मिटर उत्तरतर्फ झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

मृतक र पक्राउ परेका विवाहित कोट्टारी प्रेम सम्बन्धमा थिए । उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार ०९:४३