सूचनाको शक्ति - The Power Of Information

        

धरानमा आज निषेधाज्ञा, सामाजिक सद्भाव कायम गर्न अपिल

सम्भावित घटनालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले भदौ ८ गते रातिदेखि १२ बजेदेखि नै निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा शनिबार राति १२ बजेसम्म जारी रहनेछ ।

‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरेर संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भदौ ८ गते रातिदेखि १२ बजेदेखि मिति ९ गते राति १२ बजेसम्म अत्यावस्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेध आदेश जारी गरिएको ब्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो वराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नगरपालिका ६ नम्बरबाट वराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रसम्म निषेधाज्ञा लागू गरिएको छ । यस्तै, इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

यसैबीच धरानमा बसेको सर्वदलीय बैठकले आजका लागि निर्धारित कार्यक्रमहरुरू स्थगित गर्न आग्रह गरेको छ । बैठकपछि ती दलहरूले साझा विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खल्बलिने कुनै सामग्री शेयर नगर्न सबैसँग अनुरोध गरेका छन् । विगत केही दिनदेखि धरानमा असहज परिस्थिति उत्पन्न भइरहेको भन्दै उनीहरूले यस्तो आग्रह गरेको विज्ञप्तिमार्फत् जनाएका छन् । आपसी सद्भाव र सहिष्णुता कायम गर्न उनीहरूले सबैसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार ०८:१६