सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

आज कुन ठाउँमा हुँदैछ भारी वर्षा ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

आज (शनिबार) दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार ०८:१४