सूचनाको शक्ति - The Power Of Information

        

धरानमा निषेधाज्ञा, नाकामा कडाइ

सुनसरीको धरानमा प्रशासनले आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरि शनिबारका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शनिबार रातिसम्म निषेधाज्ञा लगाइएको जानकारी दिए ।

‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक तथा साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, न्याती, भेला, जम्मा र प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरू नगर्न नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ उक्त सूचनामा उल्लेख छ ।

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र न.पा. १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी न.पा. ६ नं. बाट बराह क्षेत्र न.पा. वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गा.पा. वडा नं. ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

धरान प्रवेश गर्ने नाकामा कडाइ गरेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको बताए । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १७:०३