सूचनाको शक्ति - The Power Of Information

        

गाउँ नै वृद्धाश्रम बनेपछि…

चितवनको इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । गाउँमा पहिलेजस्तो चहलपहल छैन । धेरै मानिस बसाइँसराइ गरेर बजार पुगेका छन् । ‘घरमा श्रीमान् र श्रीमती मात्रै छौं,’ मगरले भने, ‘कोही छोरा भरतपुर त कोही विदेशमा छन् ।’

पहिले १२ घरपरिवार रहेको खानी गाउँमा अहिले पाँच–छ घरमात्रै छन् । केटाकेटी पनि पढ्नका लागि बजार झरिसकेको र गाउँमा बूढापाका मात्रै बाँकी भएको उनले सुनाए । सोही वडाको कुयलघारीमा पनि अधिकांश घर खाली छन् । यो भूकम्प प्रभावित ठाउँ पनि हो । भूकम्पपछि यहाँबाट बसाइँसराइ गर्ने बढेका थिए ।

यस ठाउँलाई भूकम्पको जोखिमयुक्त ठाउँ घोषणा गरेपछि झन् गाउँ छाड्ने बढेको कुयलघारीका सन्तुलाल विकले बताए । मानिसको बसोबास घट्दै गएपछि खेतीयोग्य जमिन बाँझो हुन थालेको छ । पशुपालन र कृषि कर्म पनि घट्दै गएको छ । खानीगाउँ र कोयलघारीमा १०८ घरधुरी छन् । यहाँ मगर, गुरुङ, चेपाङ र दलित समुदायको बसोबास छ ।

स्थानीय झुमाकुमारीले कोही छोराछोरी पढाउन भन्दै बजार गएको त कोही कमाउन भन्दै विदेश गएपछि गाउँमा चहलपहल कम हुँदै गएको बताइन् । खानीगाउँदेखि नारायगणगढ–मुग्लिन राजमार्ग पाँच किलोमिटर दूरीमा पर्छ । गाउँमा अहिले मोटरबाटो पनि पुगेको छ । विद्युत, खानेपानीको सबै सुविधा पनि आइसकेको छ । तर पनि बसाइँसराइ रोकिएको छैन ।

विकास पुगेपछि पशुपालन र खेतीपाती कम हुँदै गएको कुयलघारीका सेतु विकको भनाइ छ । ‘यहाँका जमिन बाँझै छन् । मानिस सहर पसे । गाउँमा भएकाले पनि काम गर्न छाडे,’ उनले भने । मानिसको बसोबास कम हुँदै गएपछि यहाँका घर जीर्ण बन्दै गएको इच्छाकामना गाउँपालिका कार्यपालिका सदस्य परिमाया कामीले बताइन् ।

युवाहरुले गाउँ छाडेपछि खेती हुन छाडेको छ भने यहाँ उत्पादन हुने फसलले ६ महिना पनि नपुग्ने उनको भनाइ छ । पहिलेजस्तो उत्पादन पनि हुँदैन । त्यसैले बजारबाट सामान किन्नुपर्ने बाध्यता छ । यहाँका मानिसले बाख्रा बिक्रीबाट कमाएको र विदेशबाट पठाएको पैसाले जीविकोपार्जन गरिरहेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

‘किसानका लागि गाउँपालिकाले कृषिका कार्यक्रम ल्याएको छ । तर उक्त सुविधा लिने कोही छैनन्,’ उनले भने, ‘गत वर्ष छुट्याइएको बजेट पनि खर्च भएन ।’ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा खोर र गोठ सुधारका कार्यक्रम ल्याएको थियो ।

उनले पालिकाले गाउँमा बाँझै रहेका खेतबारीमा व्यावसायिक कृषिका लागि योजना बनाएर काम गर्ने बताए । यहाँका मानिस भरतपुर, सिमलढाप र गैंडाकोट लगायतका क्षेत्रमा बसाइँसराइ गर्ने गरेका छन् । बसाइँसराइ गरी जाने अधिकांशले जमिनसमेत बिक्री गरिसकेका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १२:०३