सूचनाको शक्ति - The Power Of Information

        

भीम उपाध्यायविरूद्ध प्रहरीमा उजुरी दर्ता

पूर्वसचिव भीम उपाध्यायविरूद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । करिब साढे दुई वर्षअघि टिकटकमा राखेको भिडिओलाई भीम उपाध्याय (मनमौजी) नामक फेसबुक एकाउन्टबाट मानहानि र चरित्रहत्या गरेको भन्दै भरतपुर–१६, की पूर्णिमाया गुरूङले बिहीबार चितवन प्रहरीमा उजुरी दिएकी हुन् ।

आफ्नो तस्बिर अनधिकृतरूपमा सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरिएकाले उनलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न प्रहरीमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गरिएको हो । भीम उपाध्यायले ती महिलाको तस्वीर राख्दै पाँच दिनअघि ‘गोरू खाने धराने’ भनेर पोस्ट गरेका थिए ।

घटनाबारे उजुरी दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । उनले थप अनुसन्धान गरेर कानूनी प्रकृयामा जाने बताए । पूर्णिमायाले रमाइलोका लागि आफूले टिकटकमा राखेको भिडियोलाई स्क्रिन सट गरेर उपाध्यायले बेइज्जती गरेको र आफूमाथि गाली आइरहेको बताएकी छन् ।

त्यसबाट आफू र परिवारलाई नै मानसिक यातना भएको उनको भनाइ छ । उनको तस्वीरमा हड्डीबाट मासु तानेर खाइरहेको जस्तो देखिन्छ । गुरुङका अनुसार साढे दुई वर्षअगाडि आफन्तको भोजमा सहभागी हुँदाको तनहुँमा लिइएको तस्बिर हो । उनीहरूले राँगाको मासु खाएका थिए । गुरूङ समुदायको भोजभतेरमा खसीबोका र राँगा अनिवार्य हुन्छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १०:०१