कानुनलाई छल्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि सजाय समेत नहुने आशामा चुनावी मैदानमा होमिएका लक्ष्मी महतो कोइरीले अपेक्षाकृत परिणाम नै हासिल गरे ।
निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश गरेर महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य चुनावमा होमिएका कोइरीले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै संसद बने ।
तर, उनको यो खुसी धेरै दिन टिक्न नै पाएन । १९ मंसिर २०७७ मा जनकपुर उच्च अदालतले ज्यान मारेको अभियोगमा उनै कोइरीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दियो ।
अदालतको आदेशबमोजिम कोइरी न तारेखमा गए न त थुनामा नै बसे, प्रहरीले कोइरीलाई फरार सूचीमा राख्यो । कानुनी छिद्राबाट संसद त बने, तर संसदीय यात्रामा भने सहभागी हुन पाएनन् ।
अन्ततः १९ वैसाख २०८० मा उनकै पार्टी एमालेबाट सभामुख बनेका देवराज घिमिरेले संसद पदवाट नै निलम्बन गरे । मनोनयन समेत वारेसनामा मार्फत् दर्ता गराएका कोइरीले निर्वाचित भएको प्रमाणपत्र समेत आफूले लिन पाएनन् ।
…त्यसपछि फरार भए लक्ष्मी महतो कोइरी
मधेस आन्दोलन हुँदै गर्दा २५ भदौ २०७२ मा मधेसी मोर्चाका कार्यकर्ताले असई थमन विकलाई नियन्त्रणमा लिएर लाठी, लात्ती र मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
उपचारका लागि लैजाँदै गर्दा घाइते विकलाई एम्बुलेन्सबाट थुतेर धान खेतमा लगेर विभत्स हत्या गरेको आरोप कोइरीमाथ लागेको थियो । यही प्रकरणअन्तर्गत जनकपुर उच्च अदालतले कोइरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाएको हो ।
तर, उनी आदेश सुनाएको २०७७ देखि नै फरार छन् । सांसद बनिसकेपछी पनि पक्राउ पर्ने डरले उनी भूमिगत अवस्थामा छन् । न उनलाइ सुरक्षाकर्मीले प्रक्राउ गर्न सकेको छ, न त पक्राउ गर्न राज्यले चासो देखाएको छ ।
जनप्रतिनिधिविहीन महोत्तरी–१
माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई १०३० मतले पराजित गर्दै लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको आडमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नयाँबानेश्वरस्थित संसद भवन पुगेका कोइरीको बाक्लै आलोचना भएपछि उनी संसद बैठकमा सहभागी नै भएनन् ।
फरार अभियुक्त कोइरीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने दवाव बढेपछि एमालेको सिफारिसमा सभामुख घिमिरेले उनको सांसद पद निलम्बन गरेका थिए ।
त्यसयता महोत्तरी क्षेत्र नम्बर १ सांसदविहीन बनेको छ । यो क्षेत्रबाट संसदीय नेतृत्व नै नभएपछि विकास निर्माणका कामहरु समेत चलायमान हुन नसकेको स्थानीय बताउँछन् ।
यसरी बने कोइरी एमालेको हतियार
माओवादी केन्द्रको आधार इलाका मानिने महोत्तरी क्षेत्र नम्बर १ लाई पहिलेदेखि नेकपा एमाले तोड्न चाहान्थ्यो । यसका लागि उपयुक्त उम्मेदवारको खोजीमा रहेको एमालेले लक्ष्मी महतो कोइरीलाई फेला पार्यो ।
उनै कोइरी २०७४ को संघीय निर्वाचनमा पनि गिरिराजमणि पोखरेलसँग भिडेका थिए । २०७४ को निर्वाचनमा गिरिराजमणि पोखरेलले २३ हजार ७७६ मत ल्याउँदा लक्ष्मी महतो कोइरीले १९ हजार ४९२ मत ल्याएर पराजित भएका थिए ।
संगठनिक संरचना नै नभएको संघीय समाजवादी फोरमबाट चुनावी मैदानमा होमिएका कोइरीले यति धेरै मत ल्याएपछि नै नेकपा एमालेले उनलाई उम्मेदवार बनाएको थियो ।
निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश गरेर वारेसनामा मार्फत् मनोनय दर्ता गराएको भए पनि एमालेले भने १ वर्षदेखि गृहकार्य गरेको एमालेका युवा नेता गुरु भट्टराई बताउँछन् । माओवादी हराउने अभियानअन्तर्गत कोइरीवाहेक बलियो अस्त्र नेकपा एमालेले अरुलाइ नदेखेपछि उनलाई उम्मेदवार बनाएको हो ।
किन अझै फरार छन् कोइरी ?
निर्वाचित भएको ९ महिना बितिसक्दा पनि लक्ष्मी महतो कोइरी अझै फरार अवस्थामा छन् । पुर्पक्षको लागि अदालतले जेल चलान गर्ने आदेश जारी गरेसँगै फरार रहेका कोइरी किन अनुसन्धान प्रक्रियामा आउन चाहेका छैनन् भन्ने गम्भीर प्रश्न बनेको छ ।
कतिपयले नेकपा एमालेको निर्देशनमा नै फरार रहेको आंकलन गरेका छन् । तर, कानुन व्यवसायीहरुले भने उनी भूमिगत हुनुले घटनाका दोषी हुन् भन्ने विषयलाई आफैले प्रमाणित गरिरहेको टिप्पणी गर्छन् ।
यता एमालेका जिम्मेवार नेताहरूले कोइरीका शुभचिन्तक र परिवारजनलाई यो अवस्थाबाट उन्मुक्ति दिलाएर संसदको भूमिकामै फर्काउने आश्वासन दिँदै आएका छन् । केन्द्रीय सदस्य जुलीकुमारी महतोले कोइरीको गृह गाउँ पुगेर एक कार्यक्रममा उनलाई उन्मुक्ति दिलाएर नै छाड्ने बताइन् ।
‘हामी लागिपरेका छौँ, जसरी पनि उन्मुक्ति दिलाएर नै छाड्छौँ,’ उनले भनिन् । उनको अभिव्यक्तिलाई हेर्ने हो भने पनि कोइरी एमालेको निर्देशनमा नै भ्रमिगत बनेको आरोप लागेको छ । संसदमा समेत एमालेका रघुवीर महासेठले कोइरी निर्दोष रहेको अभिव्यक्ति दिएका थिए ।
के भन्छ प्रहरी ?
उनी कहाँ छन् भन्ने विषयमा आफूहरुले निगरानी गरिरहेको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी दिलीप गिरीका अनुसार कोइरीको मोबाइलसमेत ट्रयाक भइरहेको छ ।
कतिपयले कोइरी गृह ठाउँ निगौलमा नै रहेको बताए पनि त्यसमा कुनै सत्यता नभएको प्रहरीको भनाइ छ । ‘हामी खोजीरहेका छौँ । भेट्नासाथ पक्रन्छौँ,’ गिरीले भने, ‘तर, मोबाइलको लोकेसन अनुसार उनी नेपालमा भएको देखिँदैन ।’
उनलाई पक्राउ गर्न यसअघि गृह मन्त्रालयले ७७ वटै जिल्लामा सर्कुलर जारी समेत गरेको थियो । तर, उनी सांसद पदबाट निलम्बन भएपछि सुरक्षाकर्मीले उनलाइ पक्राउ गर्न बेवास्ता गरेको देखिन्छ ।
सत्यपाटी संवाददाता । महोत्तरी