सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण, धरौटी तिरेर २० मिनेटमै रिहा

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जिया राज्यको एटलान्टास्थित एउटा जेल समक्ष आत्मसमर्पण गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जियामा धाँधली गराएको आरोपमा एटलान्टाको फुल्टोन काउन्टी अदालतले उनलाई दोषी ठहर गरेपछि ट्रम्पले जेल समक्ष आत्मसमर्पण गरेका हुन् ।

ट्रम्पसँगै उनका १९ जना सहयोगीहरुले पनि फुल्टोन काउन्टी जेलमा आत्म समर्पण गरेका छन् । अदालतले ट्रम्पलाई दुई लाख डलरको जरिवाना गर्ने फैसला पनि गरेको छ । ट्रम्प जेलमा पुगेपछि जेलका अधिकारीहरुले उनलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि ट्रम्पलाई कैदी नम्बर दिएर फोटो लिनुका साथै शारीरिक हुलियाको पनि रेकर्ड राखिएको थियो ।

जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गर्दा ट्रम्पको फिंगरप्रिन्ट (औंठा छाप) र मगसट (अनुहारको फोटो) लिइएको छ । यसो गरिने ट्रम्प पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन् । मुद्दाको सुनुवाइका लागि कुरिरहेका ट्रम्पलाई एटलान्टा जेलबाट जमानतका लागि दुई लाख अमेरिकी डलर धरौटी तय गरिएको छ ।

फौजदारी मुद्दामा पाँच महिनामा उनी चौथो पटक पक्राउ परेका हुन् । आत्मसमर्पणपछि ट्रम्पले सन् २०२१ यता पहिलो पटक ट्विटरमा पोस्ट गरेका छन् । आउँदो वर्षको निर्वाचनमा डेमोक्रेट पार्टीका जो बाइडेनलाई चुनौती दिन खोजिरहेका ट्रम्पले आफूविरुद्धका मुद्दा राजनीतिक रूपमा प्रेरित भएको तर्क गरेका छन् ।

जेलमा २० मिनेट बिताएर धरौटीमा छुटेका ट्रम्प विमानस्थलतर्फ लागेका हुन् । ट्रम्प जेलमा पुग्दा उनका समर्थकहरु पनि भेला भएका थिए । जेलको प्रक्रियामा सामेल भएलगतै जोर्जिया राज्यबाट फर्कन विमानस्थल पुगेका ट्रम्पले आफू निर्दोष भएको र सन् २०२० मा वास्तवमै निर्वाचनमा हस्तक्षेप भएको बताए ।

फुल्टन काउन्टी जेलमा उनलाई सन् २०२० मा जर्जिया राज्यमा भएको उनको चुनावी पराजय उल्ट्याउन खोजेको अभियोगमा ट्रम्पको नाम आधिकारिक रूपमा दर्ता गरिएको छ । ट्रम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो । उनले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् ।

सन् २०२० को राष्ट्रपतीय चुनावमा धोखाधडी भएको आरोप लगाउँदै उनले गरेका काम र दिएका अभिव्यक्तिहरूलाई लिएर उनीमाथि झुटो बोलेको तथा मिलीभगत अपराध गरेका १३ अभियोग लागेका छन् । ‘निर्वाचनलाई चुनौती दिन पाउनुपर्छ । मलाई विश्वास छ त्यो निर्वाचन धाँधलीपूर्ण थियो । मैलै कुनै गल्ती गरेको छैन र यो सबैलाई थाहा छ,’ उनले भने ।

बुधबार उनका पूर्ववकिल रुडी जिउलियानी र अन्य सहप्रतिवादीहरूले सोही मुद्दामा आत्मसमर्पण गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको छ । उनी २०२४ मा फेरि चुनावमा भाग लिने तयारीमा छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार ०८:३२