सूचनाको शक्ति - The Power Of Information

        

तिला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनिन् ‘भिमा कँडेल’

जुम्लाका तीन वटा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । जिल्लाको तिला गाउँपालिका, सिंजा गाउँपालिका र गुठिचौर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तिला गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समुह)मा कार्यरत शाखा अधिकृत भिमा कँडेल, सिंजा गाउँपालिकामा शाखा अधिकृत पवित्र शाही र गुठिचौर गाउँपालिकामा शाखा अधिकृत दिनेश भट्टराईलाई हाकिमको जिम्मेवारीमा मन्त्रालयले खटाएको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका जिल्लाका स्थानीय तहमा मन्त्रालयले नयाँ प्रमूख प्रशासकीय अधिकृत पठाएको हो ।

यहाँका आठवटै स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले पटक–पटक मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत पठाउन ताकेता गरेका थिए । ढिलो भए पनि सिंजामा नयाँ कार्यकारी पठाएकोमा मन्त्रालयलाई धन्यवाद दिदै नयाँ हाकिमलाई स्वागत गरेको अध्यक्ष धितालले जानकारी दिए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १०:०४