सूचनाको शक्ति - The Power Of Information

        

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजबाट

राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक आज देखि काठमाडौँमा सुरु हुँदैछ।

बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा पनि तय गर्नेछ । पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धी पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । बैठकले पार्टीलाई नयाँ ढङ्गबाट सञ्चालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्ने थापाले स्पष्ट पारेका छन् ।

राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । राजसंस्था सम्बन्धी धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्रा.डा विष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिवेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिति समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार ०६:५१