सूचनाको शक्ति - The Power Of Information

        

आरजु पक्राउ पर्ने डरले एआइजी सरुवा

नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेताहरु मुछिने र त्यसको लहरो कांग्रेसको माथिल्लो तहसम्म पुग्ने आशंकाले अनुसन्धान प्रभावित हुनेगरी एआइजीहरुको सरुवा भएको छ । सो प्रकरणमा मातहतमा प्रहरी अधिकारीहरुसँग समन्वय गर्ने एआइजी श्याम ज्ञावालीसहित ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवाले यसको संकेत गरेको छ ।

राजनीतिक दबाब बढ्दै गएपछि केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो । प्रहरी आफैँले बनाएको र गृहमन्त्रीले सरुवा बढुवामा भनसुन हुँदैन भनेको केही घण्टामै उनीहरुको सरुवा भएको छ । उनीहरुको सरुवा गर्दा मापदण्ड उल्लंघन गरिएको छ । ‘सत्ता गठबन्धन नै प्रभावित हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एआइजीको सरुवा गरेका हुन् ।’

नक्कली शरणार्थी काण्डमा शेरबहादुर देउवापत्नी आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण र अन्य नेपाली कांग्रेसका नेताहरुको पनि नाम जोडिएको छ । नक्कली भुटानी शरणार्थी काण्डको दोस्रो चरणको अनुसन्धान सुरु भएपछि आरजु राणा बढी आत्तिएकी स्रोतले बताएको छ । हाल फरार रहेका भारतीय नागरिक बेचन झासँग आरजुको निकट सम्बन्ध भएको र झा पनि यस काण्डमा मुछिएकोले आरजुलाई जोगाउन एआइजी ज्ञवालीको सरुवा गरिएको स्रोतले बताएको छ ।

पूर्वगृहमन्त्री खाण पक्राउ परेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग रुष्ट रहेका शेरबहादुर देउवाले सुरुमा गृहमन्त्री श्रेष्ठलाई हटाउन दबाब दिएका थिए । तर एआइजी सरुवामै देउवाले चित्त बुझाउनुपरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ । ज्ञवालीले प्रधानमन्त्री र गृहमन्त्रीको आदेश पालाना गरेर आइजीपीलाई समेत हटाउन लागेको आरोप छ ।

वसन्त कुवर आइजीपी हुनुअघि ज्ञावालीलाई नै आइजीपी बनाउन प्रयासरत प्रचण्ड सचिवालय भने उनको सरुवामा मौन देखिएको छ । प्रशासन विभागका एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ । एआइजी थापा प्रचण्ड र गृहमन्त्रीको निकट रहेर काम गरेका प्रहरी अधिकृत हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा रेणु दाहाल भरतपुरको मेयर पदमा उम्मेदवार हुँदा उनको पक्षमा लविङ गर्ने प्रहरी अधिकृतको रुपमा उनको परिचय रहेको छ ।

साथै, लामो समय प्रबन्ध निर्दैशनालयमा बसेर शक्ति केन्द्रलाई मिलाउने मामिलामा पनि उनको परिचय काफी रहेको छ । हाल प्रशासन विभागमा कार्यविभाग प्रमुख मीरा चौधरीलाई पठाइएको छ । उनी अहिलेसम्म विवादमा नआएकी प्रहरी कर्मचारी हुन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग लगिएको छ । राइले सरुवा प्रकृयामा असन्तुष्टि जनाएका थिए । तर, उनको असन्तुष्टि सुनुवाई भएन ।

राई बाँके र ललितपुरबाहेक कही पनि इन्चार्ज बसेका छैनन । उनी आतंकवाद, विशेष व्यूरो लगायतका स्थानमा बसेर नेपाल प्रहरीको संयन्त्रलाई ठूलो योगदना गरेका इमान्दार प्रहरी अधिकृत हुन् । मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ । सरुवा मापदण्ड बनाउने भण्डारीको पनि पाँच महिनामा सरुवा भएको हो । उनले नै बनाएको मापदण्डमा उनकै मापदण्डविपरीत सरुवामा भने कायम रहेन ।

तीन एआइजीहरू केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङलाई भने यथावत राखिएको छ । देउवाले सुदीप गिरीलाई काठमाडौ उपत्यकाको प्रमुख बनाउन चाहेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा मातहत प्रहरीसँग समन्वय गरिरहेका ज्ञवालीको भूमिकालाई लिएर सत्तारुढ दल कांग्रेसका सभापति देउवाले नै असन्तुष्टि जनाएपछि एआइजी सरुवाको तयारी भएको थियो ।

कांग्रेसलाई मात्र छानेर प्रहरीले पक्राउ गरेको र दोस्रो चरणको अनुसन्धानमा आरजु राणा पक्राउ पर्ने डरले एआइजी सरुवा गरिएको हो । उपत्यका प्रहरी कार्यालय प्रमुख ज्ञवाली, काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी भुटानी शरणार्थी प्रकरणको समग्र अनुसन्धान प्रक्रियामा सामेल प्रहरी अधिकारी हुन ।

एआइजी सरुवामा धेरै विवाद आएको भन्दै अहिले समय नै नपुगी अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी केसीलाई पनि सरुवाको तयारी गरिएको छ । प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार उनको पनि केही दिनमा सरुवा हुँदैछ । उनीसँगै काठमाडौ परिसरका प्रमख दानबहादुर कार्की, ललितपुरका एसपी सिद्धि विक्रम शाहको पनि सरुवा गरेर मानव वेचविखन व्यूरोबाट जीवन श्रेष्ठलाई काठमााडौ परिसर पठाउन लागिएको स्रोतले बताएको छ । काठमाडौं परिसरमा सचिवालयमा कार्यरत भूपेन्द्र खत्रीलाई पनि पठाउने बारेमा छलफल भैरहेको तर गृहमन्त्रीले भने श्रेष्ठलाई नै पठाउन जोड गरेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १९:२४