सूचनाको शक्ति - The Power Of Information

        

चन्द्रमामा पुगेर भारतले रच्यो इतिहास

चन्द्रमामा पुगेर भारतले नयाँ इतिहास रचेको छ । भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ ले चन्द्रमामा सफलतापूर्वक सफ्ट ल्यान्डिङ गरेको हो ।

चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने देशको सूचीमा भारत चौथो बनेको छ । यसअघि अमेरिका, रुस र चीन चन्द्रमामा पुगिसकेका थिए । बुधबार साँझ भारतले चन्द्रमामा पुगेर इतिहास बनाएको हो ।

भारतीय समयअनुसार साँझ ६ बजेर ३ मिनेटमा चन्द्रयानले चन्द्रमाको सतहमा टेकेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले जनाएको छ । ‘चन्द्रयान–३’ चन्द्रमामा अवतरण गरेको ठाउँबाट करिब १०० किलोमिटर टाढा रुसीयान ‘लुना २५’ले अवतरण गरेको थियो ।

‘चन्द्रयान–२’ अभियानको अनुभवले ‘चन्द्रयान–३’ अवतरणमा धेरै सहयोग गरेको इसरोले जानकारी दिएको छ । यसअघि भारतले प्रक्षेपण गरेको चन्द्रयान–२ असफल बनेको थियो । जुलाई १४ मा चन्द्रयान–३ प्रक्षेपण भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १९:१०