सूचनाको शक्ति - The Power Of Information

        

नेपालको इन्टरनेट स्पीड अष्ट्रेलियाभन्दा फास्ट, औषत गति ५५.५७ एमबीपीएस

के तपाईलाई थाहा छ नेपालको इन्टरनेटको स्पीड विश्वका सक्षम देशहरुको भन्दा राम्रो छ भनेर ? सुन्दा अचम्म लाग्छ । तपाई आफूले घरमा प्रयोग गरिरहेको इन्टरनेटको स्पीडबाट सन्तुष्ट हुनुहुन्छ ? सायद हामीलाई थाहा छैन होला कि हाम्रो देशको इन्टरनेटको गति भारत र अष्ट्रेलियाको भन्दा उच्च र राम्रो रहेको छ ।

विश्वव्यापी रुपमा ब्रोडब्याण्ड तथा मोबाइल इन्टरनेटका विषयमा अध्ययन तथा विश्लेषण गरी रिपोर्ट सार्वजनिक गरिरहने अमेरिकी कम्पनी Ookla को स्पीडटेस्ट डट नेटले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको गतिका हिसाबले नेपाल विश्वका मुलुकहरुमध्ये ८२ स्थानमा छ ।

१८२ वटा देशको सूचीमा अष्ट्रेलिया, भारत, इजिप्ट, दक्षिण अफ्रिका, बंगलादेश, पाकिस्तान, टर्की लगायतका देशहरु नेपालभन्दा पछाडि छन् । उक्त सूची अनुसार नेपालको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत गति ५५.५७ एमबीपीएस छ ।

जबकि अष्ट्रेलियाको ५३.८८ र भारतको ५३.४२ एमबीपीएस रहेको छ । रिपोर्ट अनुसार विश्वको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड गति ८२.५६ एमबीपीएस रहेको छ भने अपलोड गति ३६.८० एमबीपीएस रहेको छ ।

सिंगापुर पहिलो स्थानमा

उक्त सूची अनुसार सिंगापुर विश्वमा सर्वाधिक गतिको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट भएको मुलुक बनेको छ । त्यहाँको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको गति २४७.४४ एमबीपीएस रहेको छ ।

दोश्रो स्थानमा २४२.९९ एमबीपीएस सहित हंगकंग छ भने तेश्रो स्थानमा चिली रहेको छ । चिलीको इन्टरनेट स्पीड २४०.३४ एमबीपीएस रहेको छ ।

चौथोमा युएई (२३८.२८) र पाँचौँमा थाइल्याण्ड (२११.२८) छ भने अमेरिका छैटौँ स्थानमा छ । अमेरिकामा ब्रोडब्याण्ड इन्टरनेटको गति २०७.३२ एमबीपीएस रहँदा सातौँ स्थानमा रहेको चीनको स्पीड १९३.६६ रहेको छ ।

त्यस्तै आठौँमा १९२.६८ एमबीपीएस सहित डेनमार्क रहँदा नबौँमा स्पेन रहेको छ । स्पेनको ब्रोडब्याण्ड इन्टरनेट स्पीड १७८.९४ एमबीपीएस छ भने दशौँ स्थानको ताइवानको इन्टरनेट गति १७७.४३ एमबीपीएस छ ।

मोबाइल इन्टरनेट गतिमा नेपाल १२७ औँ स्थानमा

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको विधामा विश्वका ठूला ठूला देशहरुलाई पछि पारेको नेपाल मोबाइल इन्टरनेटको क्षेत्रमा भने निकै पछि देखिन्छ । उक्त सूचकांक अनुसार कूल १४३ देशमध्ये नेपाल १२७ औँ स्थानमा रहेको छ ।

नेपालको मोबाइल इन्टरनेटको गति १३.९६ एमबीपीएस छ । मोबाइल इन्टरनेट गतिको हिसाबमा दक्षिण एसियाका सबै मुलुक नेपालभन्दा अगाडि छन् भने नेपालभन्दा पछाडि रहेका अधिकांश मुलुकहरु अफ्रिकी महादेशका छन् ।

 

स्रोत : एजेन्सी
प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १८:०५