सूचनाको शक्ति - The Power Of Information

        

कपुरकोट हाट बजारमा एघार करोडको तरकारी बिक्री

सल्यानका तरकारी किसान डोकोमा आफ्ना उत्पादन बोकेर कपुरकोट हाटबजार पुग्दै थिए । त्यहाँ तरकारी किसानको निकै ठूलो भीड थियो । पसले उपभाक्तालाई बिक्री गर्न तरकारी सजाउँदै थिए । सदाझैं आफ्नो दैनिकीलाई निरन्तरता दिएका उनीहरु मङ्गलबार बिहान पनि आफ्नै कर्ममा व्यस्त थिए । यद्यपि अन्य दिनको भन्दा हिजो उक्त दृश्य अलि फरक थियो ।

उपभोक्तालाई तरकारी बेच्न तम्सिएका उनीहरुको पसलमा एकाबिहानै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा हाटबजारमा पुगेपछि तरकारी किसान तथा व्यापारी आश्चर्य चकित परे । मन्त्रीसहित प्रदेश सरकारका सचिव मङ्गलबार विहानै त्यहाँ पुगेका थिए । कर्णाली प्रदेशको प्रमुख नाकामध्यको एक कपुरकोट हाटबजारको मन्त्री शर्मा नेतृत्वको टोलीले स्थलगत अनुगमन तथा अवलोकन गर्यो ।

कर्णाली प्रदेशको तरकारी भण्डारण तथा निर्यातको महत्वपूर्ण केन्द्र मानिने कपुरकोट हाटबजारलाई व्यवस्थित बनाउन र त्यहाँ देखिएका समस्या एवं किसानका गुनासो लिन त्यहाँ पुगेको मन्त्री शर्माले बताए । उनले भने, ‘बिहानै हाटबजारको अवस्था हेरियो । उक्त हाटबजारले गएको दुई महिनामा रु एघार करोड एघार लाख ५० हजार २९६ बराबरको तरकारी कारोबार गरेको रहेछ ।’

अनुगमनपश्चात् उनीहरुले हाटबजार व्यवस्थापन समिति, तरकारी किसान तथा व्यापारीसँग साक्षात्कारसहित अन्तरक्रिया कार्यक्रम भयो । कार्यक्रममा समितिका सदस्य, तरकारी किसानले उत्पादित कृषि उपजलाई अर्गानिकतर्फ लैजान तथा ती वस्तुलाई रसायन तथा विषादीमुक्त बनाउन सरकारको ध्यानाकर्षण गरे ।

समितिका अध्यक्ष तिलक शर्माले परिमाणमा तरकारी सङ्कलन तथा निर्यात हुने कपुरकोट हाटबजारमा शीत भण्डार र विषादी परीक्षण प्रयोगशाला प्रदेश सरकारले निर्माण गनुपर्ने माग राखे । उनले भने, ‘कपुरकोटको तरकारी अहिले पूर्व बुटवल र पश्चिम महेन्द्रनगरसम्म पुगेको छ । पछिल्लो समयमा भारतको लखनउ र कानपुरसम्म गोलभेडा पुगेकोले यसको महत्व बढ्दै गएको छ । सल्यानको सबै तरकारीलाई कपुरकोट ब्राण्ड बनाउँदै छौँ ।’

अब कपुरकोटलाई सल्यान जिल्ला किसानको उत्पादित तरकारीबाट बिचौलियाले फाइदा नउठाओस् भनेर समिति कृषि एम्बुलेन्स सञ्चालनको तयारीमा रहेको उनले बताए । उनका अनुसार व्यापारी र चुलोसम्मको दुरी कम गर्न किसानलाई नै सिधैँ बजार जोडिने छ । कृषि एमबुलेन्सका लागि सङघ र प्रदेश सरकारबाट केही सहयोग भएको छ । अहिले कपुरकोट हाटबजारबाट गोलभेडा, प्याज, बन्दा, आलु, अदुवा, काउली, भेडे खुर्सानी, बेसार, भन्टा, लौका, चिचिण्डा, बोडी, सिमी, फर्सी, काँक्रा लगायत तरकारी बाहिर पठाउने गरिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १७:२४