सूचनाको शक्ति - The Power Of Information

        

प्रतिकूल मौसमले हवाई उडानमा समस्या

अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएको जानकारी दिए । आन्तरिक उडान रोकिए पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उनले बताए । विभिन्न गन्तव्यमा उडान रद्द भएको एअरलाइन्स कम्पनीले जनाएका छन् ।

बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार सुर्खेतको दुई र तुम्लिङटार गन्तव्यको एक उडान रद्द भएको छ । पोखराबाट भरतपुर र नेपालगन्जको सबै उडान रद्द गरिएको छ । काठमाडौं–पोखरा गन्तव्यको उडान सामान्य असर परे पनि केहीबेर अघिदेखि पुनः उडान सञ्चालन गरिएको उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ । बुधबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १७:०६