सूचनाको शक्ति - The Power Of Information

        

ग्लोबल वार्मिङविरुद्ध लड्ने सहर

विद्युतीय बसहरू चलाउनेदेखि प्रदूषण–शोषक सहरी बगैंचासम्म, विश्वभरका सहरहरूले जलवायु परिवर्तनसँग लड्न धेरै काम गरिरहेका छन्। हेरौं यस्ता सात सहर जुन यो मामिलामा विश्वका लागि उदाहरण बन्न सक्छन् ।

मेडेलिन, कोलम्बिया

ल्याटिन अमेरिकी देश कोलम्बियाको दोस्रो ठूलो सहर मेडेलिन सन् २०१६ देखि ३० वटा हरित कोरिडोर निर्माणमा संलग्न छ । यसका लागि सहरभर नौ हजार रुख रोपिएका छन् जसमा १६ करोड डलर खर्च भएको छ । यी रूखले प्रदूषण अवशोषित गर्नुका साथै सहरको औसत तापक्रम दुई डिग्री सेल्सियसले घटाएको छ । यसबाट शहरमा जैविक विविधता पनि बढेको छ र वन्यजन्तुले आश्रय पाइरहेका छन् ।

अंकारा, घाना

पश्चिम अफ्रिकी राष्ट्र घानाको राजधानी अंकाराको प्रशासनले २०१६ देखि ६०० जना अनौपचारिक फोहोर संकलनकर्ताहरूसँग काम गरिरहेको छ । पहिले यी मानिसहरू फोहोर जम्मा गरेर जलाउने गर्थे जसले प्रदूषण निम्त्याउँछ । अहिले पहिलेको तुलनामा धेरै फोहोर सङ्कलन भैरहेको छ भने त्यसलाई पुनस् प्रयोग गरी सुरक्षित रूपमा फाल्ने काम पनि चलिरहेको छ ।

कोलकाता, भारत

कोलकाताले सन् २०३० सम्ममा बिजुलीमा चल्ने पाँच हजार बस खरिद गर्ने योजना बनाएको छ । गंगामा विद्युतीय डुङ्गा चलाउने तयारी पनि भैरहेको छ । हालसम्म त्यस्ता ८० वटा बस खरिद भैसकेका छन् भने अर्को वर्ष थप १०० वटा बस खरिद गरिने छ ।

लण्डन, बेलायत

लन्डनले २०१९ मा विश्वको पहिलो अल्ट्रा कम उत्सर्जन क्षेत्र सिर्जना गर्यो। यस अन्तर्गत शहरको केन्द्रमा आउने सबै सवारी साधनहरूले कडा उत्सर्जन मापदण्ड पूरा गर्नुपर्नेछ अन्यथा उनीहरूले भारी जरिवाना तिर्नुपर्नेछ । यसबाट केही महिनाभित्रै प्रदूषण गर्ने सवारी साधनको संख्या एक तिहाइमा झरेको छ । मानिसहरू हिड्न, साइकल चलाउन वा सार्वजनिक यातायात प्रयोग गर्न थालेका छन् ।

सान फ्रान्सिस्को, अमेरिका

सान फ्रान्सिस्कोको क्लीन पावर एसएफ ९ऋभिबलएयधभचक्ँ० कार्यक्रमले मानिसहरूलाई नवीकरणीय ऊर्जा स्रोतहरूबाट उत्पादन गरिएको किफायती बिजुली प्रदान गर्यो । सहर प्रशासनले सन् २०२५ सम्ममा ४० प्रतिशतले हरितगृह ग्यास उत्सर्जन घटाउने लक्ष्य हासिल गर्ने आशा गरेको छ ।

ग्वाङझाउ, चीन

नगर प्रशासनले सबै ११,२०० सिटी बसलाई विद्युतीय बसमा परिणत गर्न र ४,००० चार्जिङ स्टेशन निर्माण गर्न २।१ बिलियन डलर खर्च गरेको छ । यसले सहरको वायु प्रदुषण मात्र कम गरेको छैन, ध्वनी प्रदुषण पनि कम गरेको छ । यति मात्र होइन बस चलाउने खर्च पनि घटेको छ ।

सियोल, दक्षिण कोरिया

दक्षिण कोरियाको राजधानीमा १० लाख घरको छतमा सोलार प्यानल जडान गर्न अनुदान दिइएको छ । विद्यालय र पार्किङ सेन्टर जस्ता ठाउँमा यस्ता प्यानलहरू जडान भैरहेका छन् । सहरले सन् २०२२ सम्ममा एक गिगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यहाँ आणविक रिएक्टरबाट पनि त्यति नै विद्युत् उत्पादन भैरहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १६:४७