सूचनाको शक्ति - The Power Of Information

        

चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दै

मलेसियामा चलिरहेको चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दैछ ।

यो खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे वायोमास ओभलमा शुुरु हुनेछ ।

नेपालले शृङ्खलाको पहिलो खेलमा हिजो हङकङलाई हराउँदै विजयी शुरुवात गरेको छ ।

तेस्रो खेलमा नेपालले पर्सि शुक्रवार आयोजक मलेसियासँग खेल्नेछ ।

यो शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ रहेका छन् ।

राउन्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि पनि शनिवार नै प्रतिस्पर्धा हुनेछ ।

यसपछि नेपाली टोलीले आईसीसी विश्वकप एसिया छनोट खेल्नेछ ।

अगष्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म मलेसियामा हुने एसिया क्षेत्र छनोटमा नेपालको समूह रहेको ‘ए’ मा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् ।

समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् ।

एसिया छनोट अघि थाईल्यान्डसँग नेपालले अभ्यास खेल खेल्नेछ ।

नेपाल र थाईल्यान्डबीचको अभ्यास खेल अगष्ट २८ मा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार ०७:१४