सूचनाको शक्ति - The Power Of Information

        

बाल सुधार गृहको अवस्था तनावपूर्ण

भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट विभिन्न अपराधमा संलग्न भई यहाँ राखिएका २ सय ९९ मध्य २ सय २१ जना बालबालिका तथा किशोरहरू भागेका छन् । जसमध्ये १ सय ९४ जनालाई प्रहरीले काठमाडौं र भक्तपुरबाट नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले भागेकामध्ये १ सय ९४ जनालाई प्रहरीले काठमाडौं र भक्तपुरबाट नियन्त्रणमा लिएको बताए । सम्पर्कमा आउन बाँकी २७ जनाको खोजी कार्य पनि तीब्र पारिएको उनले बताए ।

ती मध्ये ६० भन्दा बढीलाई नियन्त्रण लिएर बानेश्वर प्रहरी वृत्तमा राखिएको छ । भागेका व्यक्तिलाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ ।

बाल सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षीय कमल बस्नेतको मृत्युलाई लिएर उत्पन्न तनावकाबीच सोमबार प्रदर्शनका क्रममा उनीहरू सुधार गृहको ढोका फोरेर भागेका सुधार गृहले जनाएको छ ।

सुधार गृह प्रशासन र प्रहरीमाथि कारबाहीको माग गर्दै घरेलु हतियार सहित उनीहरु विरोधमा उत्रिएका थिए ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार ०७:२५