सूचनाको शक्ति - The Power Of Information

        

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक १० घण्टादेखि बन्द

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोला नजिकै सुक्खा पहिरो गएको छ । पहिरोका कारण हिजो बेलुका ८ बजेदेखि सडक बन्द छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अनुसार सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको छ । दश घण्टादेखि सडक अवरुद्ध हुँदा धेरै गाडी रोकिएका छन् । यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय चितवनसँग समन्वय गरी काम भइरहेको छ । सडक खुलाउन अझै केही समय लाग्नेछ । यो सडक पहिरोका कारण पटक पटक बन्द हुँदै आएको छ । ट्राफिक प्रहरीले सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार ०७:११