प्रदीप गिरिको आज पहिलो पुण्यतिथि हो । भौतिक रूपमा उनको अवसान भए पनि वैचारिक रूपमा गिरिको जीवन्त चर्चा चलिरहेको मात्र छैन, उन विचारहरूको प्रवाह पनि उत्तिकै भइरहेको छ । गिरिको सम्झनामा उनको विचार शृङ्खलाको निरन्तरता नै सबैभन्दा उपयुक्त हो । त्यसैले स्वतन्त्र समाचार सेवा (आइएनएस)ले पनि उनले आजभन्दा करिब ४० वर्ष अगाडि लेखेको र समतामा प्रकाशन भएको अनि फेरि बीस वर्ष अगाडि पुनःसम्पादन भई पुनःप्रकाशन भएको चर्चित आलेख ‘मार्क्सवाद् र समाजवाद’ प्रकाशन गरेको छ ।
राजनीतिज्ञ, चिन्तक र अधिकारीवादी भएर जीवनको पूरै समय जगत्, मानव र समाजको भलाइका लागि अर्पण गरेका प्रदीप गिरिको यो आलेख समसामियक नेपालका लागि अझै पनि वैचारिक तरंग सिर्जना गर्न उपयोगी रहेको हाम्रो विश्वास छ । हरेक वाद वा विचारधाराका आफ्ना केही आधारभूत मान्यता हुन्छन् । सामान्यतः त्यस्ता आधारभूत मान्यताका आधारमा विवादलाई चिनिँदैन । मार्क्सवादका पनि आफ्ना केही आधारभूत मान्यता छन् ।
‘मनुष्यले मनुष्यको शोषण गर्नेछैन,’ ‘व्यक्तिको सर्वांगीण विकास नै मानवताको विकासको पूर्वशर्त हो,’ ‘व्यक्तिले कसैका अधीनमा रहनुपर्ने छैन, वस्तुस्थितिको बन्दोवस्त समाजवादी राज्यको विशेषता हुनेछ । यी र यस्ता अनेकौ उद्धरणहरूलाई मार्क्सवादको आधारभूत मान्यताका रूपमा जानिन्छ । यी सबै उद्धरणहरू मार्क्सवादका अभिव्यक्ति हुन् तर मात्र यस्ता अभिव्यक्तिका आधारमा मार्क्सवादलाई बुझ्न सकिदैन । यस्ता अभिव्यक्तिहरू अनेकौ आदर्शवादी चिन्तकहरूका लेखनमा पाइन्छन् । स्वयं गांधीको पार्टकिन अथवा एडममिस्थसमेतको सोचाइमा यस्ता आदर्शवादी कथनहरू भरमार छन् ।
यी र अरू सबै मानवतावादी चिन्तकहरूले शोषणविहीन समाजको परिकल्पना गरेका छन् । यस समाज र संसारको पुनर्गठन गरेर मानिस मात्रलाई सुख र शान्ति दिने दिलाउने कोसिस नयाँ होइन । मार्क्सवाद पनि यस्तै कोसिसको लामो बलाको एउटा कडी हो तर यति भनेर मात्र पुग्दैन । खास गरेर आजको संसारमा मार्क्सवाद किन यति लोकप्रिय र चुनौतीपूर्ण छ भन्ने कुरो माथिको कुराबाट प्रस्टिदैन । मार्क्सवादको प्रबल आकर्षणको श्रीत यसको विश्लेषण प्रणाली तथा कार्य–पद्धतिमा निहित छ । अन्तिम लक्ष्य सबैको एउटै हो, मानव कल्याण । यद्यपि त्यस लक्ष्यमा पुग्ने बाटोका बारेमा विवाद छ ।
त्यसैले मार्क्सवादको अध्ययनलाई यसको लक्ष्यको स्पष्टीकरणले कुनै मदत गर्दैन । यसको विश्लेषण प्रणालीतर्फ पनि हामीले ध्यान पुयाउनु कता–कता ज्यादा जरुरी छ । फेरि मार्क्सवादको विश्लेषण प्रणाली साच्चै नै विशिष्ट छ । मार्क्सवादको विश्लेषण प्रणालीमा एउटा खास किसिमको तार्किकता छ । त्यस तर्कले पाठकलाई डोर्याएर स्वतः मार्क्सवादको अन्तिम लक्ष्यमा पुर्याइदिन्छ । यस विश्लेषण प्रणालीमा लक्ष्य स्वयं प्रणालीमा अन्तर्निहित छ । लक्ष्य र विश्लेषण प्रणालीको अलग–अलग अस्तित्व छैन ।
दुबै एउटै ऐतिहासिक नियतिबाट बाँधिएका छन् । मार्क्सले पुँजीवादको विश्लेषणबाट आफ्नो कार्य थालेका छन् । यस विश्लेषणका क्रममा पुँजीवादको गति र विकासको तस्बिर प्रकट हुन थाल्छ । गति र विकासको दिशा कुनै व्यक्ति वा समूहको इच्छासँग सरोकार राख्दैन । पुँजीवाद आफ्नो स्वाभाविक विकासको बाटो हिडेर समाजवाद साम्यवादमा पुग्दछ । यस गन्तव्यको अध्ययन गर्ने क्रममा मार्क्सले केही नियमहरूको अस्तित्व पत्तो लगाए । पुँजीवादको विकासको नियम नै पुँजीवादको जीवन र गतिको श्रोत देखियो । मार्क्सवादको विशेषता यी नियमहरूको निर्क्योल हो भन्नु एक हदसम्म ठीक हुनेछ ।
त्यसैले हामीले मार्क्सवादलाई बुझ्नको निमित्त यी नियमहरूलाई बुझ्नै पर्नेछ । पुँजीवादको आफ्नो अध्ययनको थालनी मार्क्सले वस्तुको परिचयबाट थालेका छन् । अझ त्यसमा पनि श्रमलाई वस्तुका रूपमा हेरेर मार्क्सको विश्लेषण थालिन्छ । मार्क्सको लेखनको सम्पूर्ण गहनता एवं व्यापकतालाई हामी यहाँ दोहोरÞ्याउन अवश्य नै सक्नेछैनौ तर सुविधाका लागि हामी उनको भनाइसित अन्याय नगरी यथासम्भव सरलीकरण गर्दै जानेछौं । सरलीकरण गर्दा हामी श्रमिकको उत्पादनको दोहोरो चरित्रका उपर विशेषरूपले विचार गर्न तयार रहनुपर्नेछ ।
मार्क्सको विश्लेषणमा अतिरिक्त मूल्यको सिद्धान्त केन्द्रीय तत्त्व हो एउटा कारखानामा मजदुरले श्रम गर्छ । उसको श्रमको साटो पुँजीपतिद्वारा मजदुरलाई मजदुरी दिइन्छ । उसको मजदुरी र उसले गरेको श्रमबाट उत्पादित वस्तुको मूल्य समान हुँदैन । यस असमानतामा नै अतिरिक्त मूल्य लुकेको हुन्छ । श्रमिकले आफूले गरेको उत्पादनको सम्पूर्ण प्रतिफल कहिले पनि प्राप्त गर्दैन । खासमा उनीहरूकै उत्पादनबाट पुँजीपति वा मालिकले आफ्नो नाफा आर्जन गरेको हुन्छ । पुँजीपतिले यो आर्जनलाई फेरि पुँजीमा रूपान्तर गर्दछ ।
पुँजीवादी उत्पादन प्रणालीको यो खास विशेषता हो । यहाँ अतिरिक्त मूल्य नाफामा दरिन्छ; अनि सञ्चित भएर फेरि पुँजी बन्छ र पुनः अतिरिक्त मूल्य उत्पादन गर्नपुग्छ । उता श्रमिकहरू भने विपरीत स्थितिमा पुगिरहेका हुन्छन् । पुँजीले उत्पादनलाई झन् झन् यान्त्रीकरण गर्दै जान्छ नयाँ नयाँ मेसिनहरूको आविष्कार तथा परिष्कार हुँदै जान्छ । नयाँ मेसिनहरूले क्रमशः तर निश्चित् रूपले श्रमिकलाई विस्थापित गरिरहेको हुन्छ । यस विस्थापनाले मजदुरहरूमा गरिबी, अभाव र भोकमरीको सिर्जना गरिरहेको हुन्छ, तर फेरि उनीहरूमा वर्गचेतना पनि वृद्धि भइरहेको हुन्छ ।
स्वयं पुँजीवादी उत्पादन प्रणालीले नै उनीहरूको वर्ग–चेतनाका निमित्त अनुकूल परिस्थितिको सिर्जना गरिरहेको हुन्छ । एकातिर पुँजीको केन्द्रीकरणले झन्–झन् ठूला–ठूला कारखानाको निर्माण गर्दछन् । अर्कोतिर यस्ता विशाल कारखानाहरूमा कार्यरत मजदुरहरूको संख्यामा उही रूपमा वृद्धि भइरहेको हुन्छ । परिमाणात्मक मात्र होइन, मजदुरहरूमा गुणात्मक परिवर्तनसमेत देखिन्छ । विशाल कारखानाका असंख्य मजदुरहरूमा सामाजीकरण तथा एकता अनिवार्यरूपले बढिरहेको हुन्छ । पुँजीवाद वा पुँजीपतिले पनि यो अनिवार्य प्रक्रियालाई रोक्न सक्दैनन् ।
श्रमिक वर्गको बढ्दो गरिबीले पुँजीवादी उत्पादनलाई पनि एक हद पछि प्रभावित गर्ने स्थिति उत्पन्न हुन्छ बजारमा माल थपिँदै जान्छ । उता श्रमिकहरूको शोषणमा कुनै कमी आउँदैन । श्रमिकहरूको क्रयशक्ति झन् झन् घटिरहेको हुन्छ जति उत्पादन हुन्छ, त्यति खपत हुन सक्दैन । उत्पादन र खपतको यो असन्तुलनले पुँजीवादका निमित्त संकटको वीजारोपण गर्दछ । प्रारम्भमा यस्ता संकट साधारण किसिमका हुन्छन् । यस्ता साधारण संकटहरूलाई पुँजीवादले पचाउन तत्काल असम्भव हुन्छ तर पुँजीवादको जीवनकालमा यस्ता संकट घरिघरि दोहोरिइरहन्छन् । प्रत्येक आउँदो संकट झन् झन् भयंकर हुँदै जान्छ ।
पुँजीवादले यस्ता संकटहरूलाई निर्मूल गर्न सक्दैन । यस्ता संकटहरूको मूलमा अतिरिक्त मूल्य प्रभावकारी रहन्छ त्यसैले अतिरिक्त मूल्य र यस्ता संकटहरू करिब–करिब अन्योन्याश्रित हुन् भन्न सकिन्छ । अतिरिक्त मूल्यको आभावमा पुँजीवादको जीवनको सञ्चालन सम्भव हुँदैन । ठीक त्यसै कारणले पुँजीवादको जीवनकालमा कथित संकट पनि निर्मूल हुँदैन । पुँजीवादले आफ्नो विकासको क्रममा स्वयं आफैले आफ्नो चिहान खन्ने डफ्फाको निर्माण गर्दछ । सर्वहारा वर्गका ती असंख्य बेरोजगारहरूको समूह यस्ता डफ्फाहरू हुन् । पुँजीवाद एकातिर आफ्नो शक्ति दोब्य्राउँछ, आफू झाँगिन्छ, लम्कन्छ र फड़किन्छ ।
उसको विकासको कथा साँच्चै नै रोमाञ्चक र प्रभावकारी छ तर उसको विकास र फड्कोको प्रत्येक कदमले उसको निषेधलाई जन्म दिइरहेको हुन्छ । सर्वहारा वर्गहरू यस निषेधका मूर्तरूप हुन् । सर्वहारा वर्गको अभ्युदय कसैको इच्छा वा भावनामा निर्भर रहने कुरो होइन यो एउटा ऐतिहासिक प्रक्रिया हो । इतिहासका नियमहरू यस स्थितिका निमित्त उत्तरदायी रहन्छन् । जुन इतिहासका नियमले पुँजीवादलाई जन्म दिन्छन्, तिनै पुँजीवादका नियमहरूले उसको काल अर्थात् सर्वहारा वर्गलाई हुर्काउँछन् प्रारम्भमा सामान्य देखिने संकट उग्रतर हुँदै जान्छ यस्ता संकटले सर्वहारा वर्गको राजनीतिक चेतना झन् झन् तिक्खर बनाउँछ ।
आखिर पुँजीवाद र सर्वहाराका बीचमा निर्णायक संघर्षको दौर शुरु हुन्छ त्यस निर्णायक संघर्षले पुँजीवादको जरोमा प्रहार गर्दछ । अतिरिक्त मूल्यको रहस्य रहँदैन । अतिरिक्त मूल्यलाई समाप्त गर्ने किसिमको व्यवस्थाको संगठनको औचित्य सबैले बुझ्दछन् । तदनुरूप उत्पादनका साधनमाथिको व्यक्तिगत स्वामित्व नष्ट हुन्छ । समाजिक स्वामित्वको नयाँ व्यवस्थाको स्थापना गरिन्छ । त्यस व्यवस्थाको पूर्वशर्तका रूपमा लुटाहा लुटिनेछन् । नयाँ सामाजिक व्यवस्थाको स्थापना गरिनेछ । त्यहाँ मानिसले मानिसको शोषण गर्नेछैन । मार्क्सको उपर्युक्त विश्लेषणका दुई केन्द्रीय अवधारणा छन् ।
यी दुई अवधारणालाई मार्क्सले उत्पादक शक्ति र उत्पादनको सम्बन्ध भन्ने गरेका छन् । सामान्यतः विज्ञान र प्रविधिका सहायताले श्रमले उत्पादन कार्य गरेको हुन्छ । कलकारखाना, खेतीका साधन र त्यहाँ कार्यरत श्रमिकहरूलाई संयुक्तरूपमा मार्क्सले उत्पादक शक्तिको संज्ञा दिएको देखिन्छ । अर्कोतिर सामन्यतः जमिनदार किसान, मालिक मजदुरजस्ता सामाजिक सम्बन्धहरूलाई मार्क्सले उत्पादनको सम्बन्धको संज्ञा दिएका छन् । उत्पादनको सम्बन्ध वास्तवमा सम्पत्तिको सम्बन्ध हो । यस सम्बन्धले समाजका विभिन्न सदस्यका सम्पत्तिमाथिको सम्बन्धलाई जनाउँछ ।
मार्क्सका विचारमा यी सम्बन्धहरू कुनै शास्वत अथवा अपरिवर्तनीय होइनन् । यी सम्बन्धहरूको परिवर्तनको प्रक्रियालाई बुझ्नु नै इतिहासलाई बुझ्नु हो । पुँजीवादका सन्दर्भमा यो परिवर्तन कसरी हुन्छ, त्यो बुझौं, पहिले उत्पादनको शक्तिमा परिवर्तन आउँछ । खासमा उत्पादनको शक्तिमा हुने सुधार र परिष्कार एउटा अनिवार्य प्रक्रिया हो तर उत्पादनको सम्बन्ध भने यसरी सतत् तथा स्वभाविकरूपमा परिवर्तित हुँदैन । हाम्रो समाजका स्वामीहरू उत्पादन शक्तिको सुधारको स्वागत गर्दछन् तर वास्तवमा उत्पादनको सम्बन्धमा सुधार नभई उत्पादन शक्तिमा एक हदभन्दा अगाडि अभिवृद्धि गराउन सकिदैन ।
यो एउटा अनिवार्य द्वन्द्वको स्थिति हरेक समाजमा रहन्छ । पुँजीवाद पनि यसको अपवाद छैन । आखिर उत्पादन शक्ति र उत्पादन सम्बन्धको द्वन्द्वले विशाल रूप ग्रहण गर्दछ, जुन बाह्य आवरणमा यो द्वन्द्व अटाएर बसेको हुन्छ, त्यहाँ अब यो अटाउँदैन । धर्म, सदाचार, नीति–नियम र राज्यको एकात्मक शक्ति छिन्न–भिन्न हुन्छ मार्क्स भन्छन्, खोल फाट्छ, अन्तरनिहित द्वन्द्वको विस्फोट हुन्छ र उपादनका सम्बन्धको नयाँ परिभाषा आवश्यक हुन्छ । यस नयाँ परिभाषाका आधारमा नयाँ सामाजिक व्यवस्थाको निर्माण हुन्छ । यस नयाँ व्यवस्थाका स्वाभाविक नेताको रूपमा सर्वहारा वर्ग अगाडि आउँछन् । अब सर्वहारा वर्गको अतिरिक्त मूल्यको अपहरण गर्ने वर्ग स्वयं नाश भइसकेको हुन्छ ।
अबको समाजमा जसले काम गर्छ उत्पादन उसैको हुन्छ । यस स्थितिले गर्दा हिजो बारम्बार देखा परिरहने संकटहरू अब हराउँछन् । समाजमा अभूतपूर्व शान्ति र स्थिरता कायम हुन्छ । प्रत्येक व्यक्ति आफ्नो सर्वांगीण विकासका निमित्त क्रियाशील हुन सक्ने अवस्थाको सृजना हुन्छ । मार्क्सका शब्दमा ‘एउटा यस्तो समाजिक व्यवस्थाको उदय हुन्छ, जहाँ एउटाको उन्नति अर्काको अथवा सबैको उन्नतिको पूर्वशर्त हो र जहाँ समाजमा अब मानिसहरू शासक र शासितमा विभाजित हुँदैनन् । शासकको स्थान विधि र व्यवस्थाले लिनेछ ।’ ध्जभचभ mभल लय यिलनभच लभभम तय दभ नयखभचलभम यलथि तजष्लनक बचभ बमmष्लष्कतभचभम.
यो मार्क्सवादको अत्यन्त संक्षिप्त रूपरेखा हो । अब यसमा पनि धेरै थपघट गर्न सकिन्छ तर मार्क्सवादको विस्तृत विवेचना गर्नु मेरो मूल उद्देश्य होइन । माथिका कुरामा मार्क्सवादको गन्तव्यको संकेत भयो वा भएन ? मार्क्सवादलाई जस्तै विस्तारमा व्याख्या गरे पनि केही न केही अपुग रही नै रहन्छ । फेरि छिद्रान्वेषण गर्नेले कहाँ पो ठाउँ भेट्दैनन् र ? तर खासमा मेरो यस विश्लेषणले अथवा मार्क्सको ‘मार्क्सवाद’ले छिद्रान्वेषणलाई विशेष महत्त्व दिँदैन । मानिसले स्वयं कार्ल मार्क्सका कतिपय भविष्यवाणी गलत भए भनेर रमाएको मैले देखेको छु तर त्यो छिद्रान्वेषण हो । मार्क्सवादको तर्कको मूलधारा बुझेका मानिसहरू त्यस्तो खण्डन–मण्डनमा फस्दैनन् ।
म पनि मार्क्सवादको मूलधारामा दृष्टि केन्द्रित गर्न चाहन्छु । मेरो प्रश्न छ– के माथिको प्रस्तुतीकरणले मार्क्सवादको मूलधारालाई संकेत गर्न सकेको छ ? छ भने पुग्यो । अब माथिको विश्लेषणलाई हामीले केलाउनुपर्छ । माथिको विश्लेषण आधारभूतरूपमा सटिक छ भने मार्क्सवाद अवश्य पनि आजको युग–सत्य हो । सानातिना विसंगति वा त्रुटिहरूका आधारमा मार्क्स र एङ्गेल्सको गल्ती देखाउन खोज्नु बेकार हो । यस्ता सानातिना भूल र त्यसको परिष्कार समय स्वयंले गर्दछ । हामीले आधारभूत मान्यताको मूल्यांकन गर्नु मात्र प्रासंगिक हुनेछ । यहाँ हामी उदाहरणका निमित्त केही तथ्यहरूको उल्लेख गर्न सक्छौं सर्वहारा वर्गको बढ्दो गरिबी विकसित पुँजीवादी देशहरूमा देखिदैन । मार्क्सले भनेजस्तो अनिवार्य र विशाल संकट पुँजीवादी समाजमा अध्यावधि देखिएको छैन ।
संकट आउँछन् तर तिनका उपर पुँजीवादले विजय प्राप्त गर्दै हिँड्छ । बरु मार्क्सले अनुमान नगरेको क्षेत्रमा सामाजिक व्यवस्थाहरू छिन्न–भिन्न हुँदै गएका छन् । तेस्रो विश्वका दरिद्र समाजहरू यताका दशकहरूमा ठूलो उथल–पुथलबाट गुज्रिरहेका छन् । उता उन्नत पुँजीवादी देशहरू यथा फ्रान्स, इंगल्यान्ड, जर्मनी, संयुक्त राज्य अमेरिकाजस्ता देशहरू अपेक्षाकृत शान्ति र स्थिरताका उदाहरण भएका छन् । मार्क्सको ‘भविष्यवाणी’का सन्दर्भमा उपर्युक्त वस्तुस्थिति एउटा विडम्बना देखिन्छ । मार्क्सका विरोधीहरूले बडो हर्षपूर्वक यस विडम्बनातर्फ औंल्याउने गरेको पाइन्छ । यी तथ्यहरू नभन्दै बडो महत्त्वपूर्ण छन् तर यी तथ्यहरूले मार्क्सवादको आधारभूत मान्यता र तर्कप्रणालीलाई आघात पुयाउँछन् भनेर कदापि भन्न सकिन्न ।
खासमा अनेकौँ मार्क्सवादी शास्त्रीहरूले यी तथ्यहरूतर्फ ध्यान पुर्याइसकेका छन् । एउटा सिद्धान्तका रूपमा समसामयिक मार्क्सवादले यी वास्तविकताहरूलाई सामना गरिसकेको छ । तत्सम्बन्धी मार्क्सवादी व्याख्या सारयुक्त र व्यवहारिक छ भन्न मलाई कुनै संकोच छैन तर फेरि पनि मेरो आग्रह यथावत् छ । मार्क्सवादी सिद्धान्तको वास्तविक परीक्षण गर्ने थलो यो होइन । अतिरिक्त मूल्य, वर्ग संघर्ष र क्रान्तिको अनिवार्यता मार्क्सवादका वास्तविक सिद्धान्त हुन् । यी सिद्धान्तहरूको पुनर्मूल्यांकन अथवा खण्डन मण्डनबाट मात्र मार्क्सवादको वास्तविक परीक्षा गर्न सकिन्छ । अतिरिक्त मूल्यको मार्क्सवादी सिद्धान्तले निश्चय नै गहन पुनर्विचारको आवश्यकता राख्दछ ।
मार्क्सवादको मौलिकता र आकर्षणको एउटा प्रमुख आधार अतिरिक्त मूल्य हो, तर अतिरिक्त मूल्यको परिभाषा र प्रस्तुतीकरणमा नै कार्ल मार्क्स हडबडाएका र गडबडाएका छन् भन्ने मेरो प्रमुख मान्यता छ । अरू कुरा गौण छन्, यही नै प्रमुख हो । कार्ल मार्क्सको मृत्युपछि उनका सिद्धान्तको कतिपय अधुरो पक्षप्रति विद्वान्हरूको ध्यान गयो तर म जुन कुरो भन्न खोज्दै छु, त्यसतर्फ कसैको पनि ध्यान गएन । त्यसतर्फ ध्यान नजानुका पछाडि ठोस कारण थिए । जस्तै मार्क्सले स्वयं जोड दिएर भनेका छन्, ‘विचारहरू परिवेश र परिस्थितिबाट उत्पन्न हुन्छन् ।’ पुँजीवाद पश्चिम युरोपमा उत्पन्न भयो । पुँजीवादका आलोचकहरू पनि पश्चिमी युरोपमा नै उत्पन्न भए । मार्क्सवाद पनि पश्चिमी युरोपमै उत्पन्न भयो ।
मार्क्सवादका बारे अहिलेसम्म भएका महत्त्वपूर्ण संशोधन र परिष्कार पनि आफ्नो जन्मस्थलको परिवेशबाट मुक्त हुन सकेको छैन । मार्क्सवादका केन्द्रीय मान्यताहरूमा पश्चिमी युरोपको ऐतिहासिक तथा बौद्धिक संस्कारको गहिरो छाप छ । अतिरिक्त मूल्यको परिभाषा र प्रस्तुतीकरण यस किसिमको संस्कार र छापको प्रभाव हो । मार्क्सले पुँजीवादको विकासको अध्ययन मुख्यतः पश्चिमी युरोपको परिप्रेक्षमा गरेका छन् । पुँजीवादको विकास आफ्नै आन्तरिक स्रोतबाट भयो भन्ने उनको ठहर छ । ‘पुँजीवादले मजदुरहरूको अतिरिक्त मूल्यबाट प्राप्त सञ्चयका आधरामा आफ्नो गति प्राप्त गर्दछ । यो सोचाइले वास्तविक ऐतिहासिक यथार्थसित न्याय गरेको जस्तो मलाई लाग्दैन ।
पश्चिमी युरोपमा पुँजीवादको विकास एउटा क्षेत्रीय घटनाको रूपमा भएको जस्तो देखिन्छ । यो दृश्य सबैले देख्तै, पत्याउँदै आएका छन् तर वास्तविकता अर्कै छ पश्चिमी युरोपको विकासको कथालाई तेस्रो विश्वको शोषणबाट अलग राखेर कसरी बुझ्न सकिन्छ ? मैले बुझ्न सकेको छैन । एउटा समाजका रूपमा पश्चिमी युरोपमा मार्क्सले चित्रण गरेसरह श्रमिक र पुँजीपति तथा भूमिपतिका माझमा हानथाप अवश्य चल्यो । त्यस हानथापमा पुँजीपतिले श्रमिक वर्गद्वारा आर्जिएको मूल्यको अपहरण लगातार गरे । कार्ल मार्क्सको महान् प्रतिभाले यस अपहरणको प्रामाणिक विवरण हामीलाई उपलब्ध गराएको छ । त्यसका निम्ति हामी उनका ऋणी छौं तर हामी अविकसित तथा औपनिवेशिक समाजका बासिन्दाहरूका आफ्ना केही अनुभव छन् ।
ती अनुभव र पश्चिमी यूरोपको सम्पन्नताको केही सम्बन्ध छ । त्यस सम्बन्धको ठोस तथा ऐतिहासिक विश्लेषण कुनै युरोपवासीले अहिलेसम्म गर्न सकेका छैनन् । यस दृष्टिले मार्क्स पनि युरोपीय नै ठहरिन्छन् । मार्क्सले पनि पुँजीवादको आफ्नो महान् विश्लेषणमा युरोपीय मानसिकताबाट पूर्णतः मुक्ति प्राप्त गर्न नसकेको देखिन्छ । हुन त, मार्क्सको पुँजी अधुरो छ । ठाउँ ठाउँमा उनका कतिपय युक्तिमा औपनिवेशिक समस्याको उल्लेखसमेत छ । ठाउँ–ठाउँमा मार्क्सले साम्राज्यवादी शोषण र साम्राज्यवादी नियन्त्रणको चर्चा पनि गरेका छन् तर त्यति भएर पनि पुँजीवादको विकासको क्रममा औपनिवेशिक शोषण र लूट केन्द्रीय महत्त्वको रहेको छैन ।
पुँजीवादको विकास अन्ततः आन्तरिक मजदुरको आन्तरिक शोषणबाट नै भएको हो भन्ने कुरामा मार्क्सवाद अडिग छ । यो धारणा ऐतिहासिक विकासका दृष्टिले अवैधानिक तथा त्रुटिपूर्ण छ ब्रिटिस पुँजीवादको एउटा उदाहरण लिऊँ ब्रिटेनमा पुँजीको सञ्चय कहिलेदेखि शुरु भयो ? यस सञ्चयलाई अब हामी भारतको र विशेष गरेर बंगालको लूटसँग दाँजेर हेरौं । इस्टइन्डिया कम्पनीले भारतबाट निकै पहिलेदेखि नै प्रचुररूपमा नाफा कमाउन थालेको थियो । झन् १७५६ को युद्धपछि अंग्रेजहरू बंगालका शासक भए । अंग्रेजी शासनकालमा बंगालका बुनकर र जुलाहाहरूको अक्षरशः हात काटियो भनिन्छ । जे होस्, १८ औं शताब्दीको अन्त्यपछि बंगालमा भएको लूट र शोषणबाट ब्रिटिस पुँजीवादले पाएको पोषण अकाट्य र असन्दिग्ध छ तर मार्क्स यसको चर्चा गर्दैनन् ।
ब्रिटिस पुँजीवादको ऐतिहासिक विकासको अध्ययन मार्क्सले आजीवन गरे तर यस क्रममा भारतका उपर के कस्तो प्रभाव पर्यो, त्यसको प्रामाणिक जानकारी मार्क्सलाई थिएन । फलस्वरूप ब्रिटिस पुँजीवादले ऐतिहासिकरूपमा एकत्र गरेको अतिरिक्त मूल्यमा भारतीय शोषण र लूटको कुनै उल्लेख छैन । यो उल्लेख बेगर ब्रिटिस पुँजीवादको ऐतिहासिक विकासको विवरण लेख्न सकिन्छ जस्तो मलाई लाग्दैन तर मार्क्सले यस्तै गरेका छन् । ब्रिटिस पुँजीवादको उत्थान उनका निमित्त ब्रिटेनको घटना भएको छ । यो मान्न सकिने कुरो होइन । ठीक यही कुरो पश्चिमी यूरोपबारे भन्न सकिन्छ । पश्चिमी युरोपमा पुँजीबाद आज एउटा सम्पन्न सामाजिक व्यवस्थाका रूपमा प्रतिष्ठित छ, तर पश्चिमी यूरोपको ऐतिहासिक विकास स्वयम् आफूमा आफैंबाट आत्मपोषित रहेको वस्तुस्थिति होइन ।
माथिका कुरा झट्ट हेर्दा बडो साधारण देखिन्छन् तर यी कुराहरूको निकै गम्भीर परिणाम निस्किएको छ । यी परिणामहरूलाई केलाउँदै जाने प्रयाश गर्नेछु तर त्योभन्दा अघि नै एउटा कुरा भन्न मलाई मन लागेको छ । मार्क्सद्वारा परिभाषा गरिएको अतिरिक्त मूल्यको सिद्धान्तसित वास्तवमा मेरो कुनै मतभेद छैन । यस सिद्धान्तले पुँजीवादको भ्रामक जाललाई छिन्न–भिन्न पार्ने अतुलनीय कार्य गरेको छ । यस सिद्धान्तले समाजवादी चिन्तनलाई साँच्चै नै वैज्ञानिक धरातलमा उभ्याइदिएको छ तर स्वयम् मार्क्सले पनि यस सिद्धान्तको सीमित प्रयोग गरे । युरोपीय मजदुरहरूको शोषणतर्फ उनको ध्यान गयो तर एसियातिर उनको नजर पुगेन । आज यस संसारमा र अझ एसियामा पनि मार्क्सका अनुयायीहरू असंख्य छन् ।
उनीहरूले मार्क्सको सूत्र यथावत् जपेको सुनिन्छ– यो बडो अपसोचको कुरो हो । मार्क्सका प्रस्थापनाहरूलाई त्यसको तार्किक संगतिसँग लैजाने प्रयत्न किन कसैले गर्दैन ? यस्ता प्रयत्नले गर्नुपर्ने मुख्य काम एउटै छ । त्यो काम हो, अतिरिक्त मूल्यको नयाँ तथा व्यापक परिभाषा । यस व्यापक परिभाषाले पुँजीवादको सार्वभौम चरित्रलाई उद्घाटित गर्नुपर्नेछ । विगत ४ सय वर्षको पुँजीवादको इतिहास बडो जटिल र संश्लिष्ट छ । यसको एउटा पाटामा इंग्ल्यान्ड, हल्यान्ड, फ्रान्स, जर्मनी र पोर्चुगलका प्रस्ट, स्वस्थ र उज्याला अनुरहार कोरिएका छन् । यसको अर्को पाटामा अफ्रिका, ल्याटिन अमेरिका, भारत, नेपाल वर्मा, मलाया र चीनका चुसिएका, लुटिएका क्रान्तिहीन अनुहारको तस्वीर छ । सामान्यतः पुँजीवादलाई एउटा विकासशील व्यवस्थाका रूपमा हामीले चिनेका छौं ।
स्वयम् मार्क्स र एंगेल्स पुँजीवादको प्रगतिशील चरित्रका बारेमा विश्वस्त थिए तर मलाई भने ठीक यही विन्दुमा ठूलो शंका छ । ती जसले पुँजीवादको उज्यालो सुनहार हेरे, उनीहरूले प्रगतिको कुरा गर्न सुहाउँछ तर हामी एसियावासीको अनुभव बेग्लै छ । पुँजीवादले अन्तरविरोध उत्पन्न गरेको छ । त्यो अन्तरविरोध मजदुर र पुँजीपतिको अन्तरविरोध हो भन्ने मार्क्सको मान्यता थियो । म चाहिँ अर्कै कुरो देख्दैछु । म विकसित मुलुक अर्थात् पुँजीवादी देशहरू र अविकसित मुलुकहरू अर्थात् भारत, नेपाल, चीनजस्ता ग्रामीण समाजहरूको अन्तरविरोध देख्दैछु । ब्रिटिस समाजभित्रको अन्तरविरोध आज त्यस्तो प्रखर देखिदैन तर ब्रिटेन तथा भारतजस्ता देशहरूको अन्तरविरोध झन् चर्किरहेको छ । उत्पादनको सम्बन्ध र उत्पादनको शक्तिको अन्तरविरोधको चर्चा अब त्यस्तो प्रासंगिक देखिदैन ।
एउटा अर्को कुरो स्पष्ट तथा ठोस रूपमा देखिदैछ । आजको जर्मनी, आजको फ्रान्स र आजको ब्रिटेन अझ यसमा चाहे रुस र अमेरिकालाई पनि थप्नुस्, यिनले नित्य उत्पादनका नयाँ–नयाँ प्राविधिको विकास गरिरहेका छन् तर गरिब मुलुकहरूमा विकास हैन, विनाश भइरहेको छ । यो कुरो भन्दा मानिसहरू पत्याउँदैनन् । गरिब मुलुकले पनि थोरै नै भए पनि विकास गरिरहेका छन् भन्ने धेरैको धारणा छ । पश्चिमको विकास र पूर्वको विकास गुणात्मक होइन, मात्रात्मक फरक हो भन्ने धेरैको सोचाइ छ तर यो सोचाइ सरासर गलत हो । गरिब मुलुकहरूमा विगत चार सय वर्षले उत्पादक शक्ति लगातार विनाश भइरहेको छ । धनी मुलुकहरूमा उत्पादक शक्ति लगातार विकास भइरहेको छ ।
पुँजीवादको मुख्य अन्तरविरोध यही हो । एउटा सार्वभौम उत्पादन प्रणालीका रूपमा पुँजीवादले यो भयंकर तथा अपूर्व कर्म गरेको छ । एकातिर विश्वको एउटा कुनामा यसले उत्पादक शक्तिको विकास गरेको छ । अर्कोतिर शेष संसारमा पुँजीवादले उत्पादक शक्तिको विनाश गरेको छ । यही नै पुँजीवादको अर्थात् आजको युगको केन्द्रीय अन्तरविरोध हो । लामो समयसम्म पश्चिमी युरोप विश्व–पुँजीवादको राजधानी थियो । यता आएर संयुक्त राज्य अमेरिका र जापान पुँजीवादका प्रिय वासस्थल भएको लक्षण देखिन्छ । मैले माथि रुसको समेत उल्लेख गरें । पुजीवादी देशहरूको हारमा रुसलाई उभ्याउनु एउटा असम्भव र मूर्खतापूर्ण कार्य मानिएला तर फेरि रुसको उल्लेख अकारण अथवा अप्रासंगिक पनि थिएन ।
रुसमा यताका दशकहरूमा आएर उत्पादक शक्तिमा अभूतपूर्व वृद्धि भएको छ । यस वृद्धिको उल्लेख र विश्लेषण आवश्यक छ । त्यसैले यहाँ रुसको सामान्य उल्लेखसम्म गरियो । यसका अरू पक्षहरूको चर्चा यथास्थान हुनेछ । एउटा कुरो स्पष्ट गरिनु बेलैमा आवश्यक छ । उत्पादन प्रणालीको विकास अथवा विनाशको तर्कलाई म भावनाको क्षेत्रमा सीमित राख्न चाहन्न । तथ्यले आफैँ बोल्नेछन् । अमेरिका, पश्चिम युरोप र रुसमा उपलब्ध भौतिक तथा प्राकृतिक संसाधन र पुँजीमा अद्भुत समानता छ । यता चीन र भारतको स्थिति बिल्कुलै विपरीत छ ।
भारत र चीनका प्रमुख उत्पादन संयन्त्र आज पनि घटीमा दुई हजार वर्ष पुराना होलान् । उही हलो, कोदालो र चर्खा आज पनि भारत र चीनका गाउँमा प्रचलित छन् तर रुस, अमेरिका र पश्चिमी युरोपमा उत्पादनका आधुनिकतम संयन्त्रहरू कार्यरत छन् । उत्पादनका यस्ता संयन्त्रहरू जुटाउनका निमित्त हामीसँग पुँजी चाहिन्छ तर हाम्रो जस्तो तेस्रो विश्वका गरिब मुलुकहरूमा पुँजी कहाँबाट आउने ? अहिले अमेरिकामा प्रतिव्यक्ति सरदर दस हजार रुपैयाँका औजार उपलब्ध छन् । पश्चिमी युरोपमा प्रतिव्यक्ति औजारको मोल केही कम होला तर पश्चिमी युरोपका कुनै पनि देशमा प्रतिव्यक्ति पाँच हजार रुपैयाँभन्दा घटीका औजार छैनन् ।
अब यसको तुलना भारतमा उपलब्ध पुँजीसँग गर्नुस् जस्तै उदारतापूर्वक हिसाब गरे पनि भारतमा प्रतिव्यक्ति १ सय ५० रुपैयाँभन्दा बढी पुँजी उपलब्ध छैन । यी तीनवटा समाजहरूको आर्थिक स्थिति यही सूचकांकबाट थाहा पाइन्छ । यी तीन समाजको अन्तर खासमा प्रतिव्यक्ति १० हजार, ५ हजार र १५० रुपैयाँको पुँजीको अन्तर हो । पुँजीको यो अन्तर पुँजीवादको ऐतिहासिक विकासको अन्तर हो । पुँजीमा यस्तो अन्तर छ । उता जनसंख्याको वृद्धिको आफ्नै कहानी छ । राष्ट्र निर्माण र आर्थिक पुनर्निर्माणका कुरा गर्ने मानिसहरूले जनसंख्याका बारेमा पनि सोच्नु पर्दछ । विगतका शताब्दीहरूमा विश्वको जनसंख्या ३ गुणा भएको छ भन्ने अनुमान छ । युरोपमा १९ औं शताब्दीमा मात्र त्यहाँको जनसंख्या ४ गुणा वृद्धि भयो भनिन्छ । भारतमा अकबरको जमानाको जनसंख्याको एउटा अनुमान हामीसँग छ । त्यो जमानादेखि अहिलेसम्ममा हामी ३ गुणा बढेको देखिन्छौं ।
तुलनात्मक दृष्टिले हेर्दा हामी नडराए हुने हो तर स्थिति डरलाग्दो छ । युरोपमा जनसंख्या वृद्धिले आर्थिक विकासलाई बल पुरÞ्यायो । त्यहाँ प्राकृतिक संसाधन र पुँजी धेरै थियो । जनबल थिएन । त्यसैले युरोपले १९औं शताब्दीमा वाञ्छित जनशक्ति प्राप्त गर्यो तर भारतमा जनसंख्याको विकासले भौतिक विकासमा बाधा पुरÞ्याउन थालिसकेको छ । खाने मुख बढ्दैछन् तर उत्पादन बढिरहेको छैन । भारतवासीहरू परिश्रम गर्दैनन् भन्नु मूर्खता हुनेछ तर त्यो परिश्रमको प्रकृति कस्तो छ भन्ने कुरा नियालेर हेर्नु परेको छ । मैले भारतीय परिश्रमको प्रतीक एउटा रिक्सावालालाई मानेको छु ।
रिक्सावालाको कष्टलाई मैले मानवीय श्रम मान्नबाट सधै इन्कार गरेको छु । मैले आफूले होश सम्हालेदेखि रिक्सा चढेको छैन । सोचेर हेर्नुहोस्, हिजोको तथाकथित सामन्त युगमा घोडा वा गोरुले गरेको काम आजको २०औं शताब्दीमा फेरि पनि मानिसले किन र कसरी गर्न थाल्यो ? भारत, चीन र दक्षिण एशियामा रिक्साको चलन शुरु भएको हो । युरोप र अमेरिकाको आफ्नो विकासको चरणमा रिक्सा देख्नै परेन । रिक्सा हाम्रो भागमा पर्यो । वायुयान उनीहरूले लिए । हामी एसियावासीलाई अर्ध–पशुका दर्जामा उतारेर पुँजीवादले पुँजी सञ्चय गरेको छ । जसले रिक्साको मर्म बुझ्दैन, त्यसले पुँजीवादको इतिहास बुझ्दैन भन्ने मेरो आग्रह छ ।
यहाँ म सानो विषयान्तर गर्न चाहन्छु । हाम्रा शासक नेहरू वा सुकार्णो मूर्ख छन् तर उनीहरू मूर्ख मात्र छैनन्, यिनीहरू पश्चिमका मानसिक दास पनि छन् । नेहरू भारतको राष्ट्रिय चिह्न अशोक चक्र राखेर घमण्डले फुलेका छन् । उता इन्डोनेसियाको राष्ट्रिय चिह्न गरुड भएको छ । यस्तो फोस्रो घमण्ड र शान देखेर म अनेकौंपटक जलेको छु । कहाँको अशोकचक्र र गरुड ? मानिस पशु भएर बाँच्न बाध्य भएको देशमा गरुड उड्ने ? हाम्रा देशहरूको राष्ट्रिय चिह्न कुनै परिश्रमी पशु हुनुपर्ने हो । साँच्चै भन्ने हो भने एउटा यस्तो प्राणी, जो आधा पशु र आधा मनुष्य छ, त्यो हाम्रो राष्ट्रिय चिह्नमा अंकित हुनुपर्ने हो ।
आधा जीउ घोडाको बनाउनुहोस्, आधा मानिस रहोस् र त्यस अर्धपशुले एउटा युगौं पुरानो चर्खाको तान चलाइरहोस् । हाम्रो आर्थिक जीवनको यो एउटा सटिक प्रस्तुतीकरण हुनेछ । यस तस्वीरले विगत ३ सय वर्षको विश्व इतिहासको गतिलो विवरण दिनेछ । कमसेकम दुई तिहाइ संसार आज यही वस्तुस्थितिमा बाँचेको छ । कार्ल मार्क्सले एकथरि मानिस धनी हुनेछन् र अर्काथरिका मानिस गरिब हुनेछन् भनेर पुँजीवादको विकास सम्बन्धी नियमको व्याख्या गरेका थिए । उनको भनाइ साररूपमा ठीक ठहरिएको छ । मात्र वर्गहरू राष्ट्रमा परिणत भएका छन् ।
यस समय मुठ्ठीभर राष्ट्रहरू वैभव र विलासिताको समुन्द्रमा पौडिदैछन् । अर्कोतिर अकथनीय गरिबी र दारिद्र्य छ । एउटा अचम्मको परिस्थिति वृद्धि भएको छ । पुँजीवाद र साम्राज्यवादले गठबन्धन गरेका छन् । उनीहरूका बीच एउटा गुप्त सल्लाह भएजस्तो छ । त्यस सल्लाहका अनुसार सम्पत्ति र प्रगति एकातिर थुप्रिदै छ । विपत्ति र अधोगति अर्कातिर केन्द्रित हुँदैछ । यो बडो अचम्मको अवस्था प्रतीत हुन्छ तर यो अवस्थाको प्रामाणिकता चाहे तपाईंले जाँचेर हेर्नुस् जाँचेको खण्डमा एउटा अर्को खतरनाक कुरा देख्नुहुनेछ । सम्पत्तिको यो केन्द्रीकरणका आफ्नै तर्क र कारण देखिन्छन् । त्यसमा भूगोल र धर्मको भूमिका छ तर त्योभन्दा पनि ज्यादा इतिहासले यसपटक छालाको रंगको आधारमा कोल्टे फेरेजस्तो देखिन्छ ।
पुँजीवादी इतिहासका निमित्त यसका कुइरे सन्तान प्यारा भएका छन् । हामी काला अथवा पहेंलाजति परत्र भएका छौं । मैले यहाँ चिनियाँ दाजुभाइलाई सम्झेर पहेँला शब्दको प्रयोग गरें तर रंगीन भन्नाले हामी एशिया र अफ्रिकाका सबै काला, राता र पहेंलालाई बोध गराउँछ । कुइरे पनि नभनौं । स्पेन र ग्रीसका युरोपवासीहरूको आँखा कुइरो हुँदैन । त्यसैले छालाको रंगबाटै जाउँ । गोरा र रंगीनको विभाजन सम्झी राखौं । पुँजीवादी इतिहासले यस विभाजनलाई हाम्रो सामयिक जीवनको सर्वाधिक महत्त्वपूर्ण तथ्यका रूपमा प्रतिष्ठित गरेको छ । गोरो समाज आज यस संसारको मालिक भएको छ । हामी रंगीन जातिहरू उनीहरूको आर्थिक अधिपत्यमा रहन मजबुर भएका छौं । मार्क्सले बताएको सर्वहरा वर्गका सारा विशेषताहरू रंगीन जातिमा पाइन्छन् ।
उता गोराहरू भने एउटा जातिका रूपमा पुँजीपति वर्गको विशेषता लिएर बसेका छन् । यस्तै छ, पुँजीवादको ऐतिहासिक विडम्बना । अब सोभियत रुसका बारे अलिकति चर्चा यहाँ आवश्यक छ । सोभियत रुसको स्थिति भौगोलिक दृष्टिले पनि उभयपक्षीय छ । उ एसिया हो र युरोप पनि । जातीय दृष्टिले पनि उसमा गोरा र रंगीनको सम्मिश्रण पाइन्छ । जारकालीन रूस वास्तवमा कहिल्यै पनि प्रत्यक्ष औपनिवेशिक शोषणको अचानो रहेन । युरोपका सम्पन्न राष्ट्रहरूले यथा– फ्रान्स र जर्मनीले हेपेर हेर्दथे । यद्यपि त्यो विजातीय हेराइ थिएन । जात र वंशको बारेमा शंका थिएन । कुनै धनी परिवारले आफ्ना गरिब नातेदारलाई हेपेर हेरे जस्तो थियो । यत्तिकैमा रुसमा क्रान्ति भयो । रुसको क्रान्तिका वास्तविक सिद्धान्तकार लेनिन र ट्रटस्की हुन् । दुवैले मार्क्सवादको मौलिक व्याख्या गरे ।
मार्क्सले पुँजिवादको विघटनको भविष्यवाणी गरेका थिए तर रुसमा एउटा नयाँ मान्यताको विकास भयो । पुँजीवादलाई एउटा लामो शृङ्खलाको रूपमा हेर्नुपर्छ भनियो । यो शृङ्खला आफ्नो दुर्बलतम कडीमा भाँचिन सक्छ भनियो । पुँजीवादी शृङ्खला आफ्नो दुर्बलतम कडीमा भाँचिने सिद्धान्त त्यति सरल र सहज छैन । त्यसैले होला, लेनिनले यस सिद्धान्तलाई बढी जोडले व्याख्या गर्ने उत्साह देखाएनन् । लेनिन ज्यादा चतुर र गम्भीर थिए । लेनिनले वरु राजनीतिक दलको भूमिकामा ज्यादा ध्यान दिए । पुँजीवाद दुर्बलतम कडीमा टुट्ने कुराको जोडदार व्याख्या लिओन ट्रटस्कीले गरेका छन् । ट्रटस्कीको यो प्रिय सिद्धान्त थियो । यसै सिद्धान्तको पूरक मन्यताका रूपमा तथाकथित सतत् क्रान्ति (त्जभ उभचmबलभलत च्भखयगितष्यल) को सिद्धान्तको प्रादुर्भाव भयो ।
कतिपय विद्वान्हरूले लेनिन, ट्रटस्की र कार्ल मार्क्सको इतिहास, दृष्टिको मतभेदलाई समेत बँझ्याएका छन् । म भने त्यस्तो बाँझो वा मतान्तर देख्दिन । त्यस्तो मतान्तर छ नै भने पनि त्यसको महत्त्व त्यति छैन । मूल कुरो हो, क्रान्तिको ऐतिहासिक नियम र त्यस नियमअन्तर्गत खोजिनुपर्ने तथा भेटिनुपर्ने अन्तरविरोध । मार्क्सले अन्तरविरोधको नियम पत्तो लगाए । यदि लेनिन, ट्रटस्की वा अन्य कसैले अन्तरविरोधको नयाँ स्वरूप वा थलो पत्तो लगाउँछ भने त्यसलाई मार्क्सको खण्डन भन्न मिल्दैन । बरु त्यो त मार्क्सवादको विकास नै मान्नुपर्दछ । आपसमा मतान्तर पनि हुनसक्छन् तर आपसी मतान्तर राख्ने दुईवटा सिद्धान्तले दुई भिन्न कोणबाट पनि मार्क्सवादको पुष्टि गरेका हुनसक्छन् । लेनिन र ट्रटस्कीले पनि यस्तै गरेका छन् भन्ने मेरो ठहर छ ।
Design : Aarush Creation
स्व. प्रदीप गिरि । मार्क्सवाद र समाजवादका चिन्तक