सूचनाको शक्ति - The Power Of Information

        

भीआइपीले जहाजसम्म आफ्नै गाडी लैजान नपाउने भएपछि…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भीआइपी)हरुले अब भीआइपी कक्षबाट जहाज पार्किङस्थलसम्म आफ्नो सवारी साधन लैजान नपाउने भएका छन् । उनीहरुको हकमा सुरक्षा प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआइपी सवारी साधनले जहाजसम्म लैजाने व्यवस्था मिलाइएको छ ।

अतिविशिष्ट र विशिष्ट आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार यस्तो नियम अनिवार्य गरिएको विमानस्थलका निर्देशक टेकनाथ सिटौलाले जानकारी दिए । यसअघि पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्षहरु तथा मन्त्रीहरुले आफ्नै गाडी जहाजसम्म लैजाने गरेकोमा अब यो रोकिनेछ । तर, भीभीआइपी (अतिविशिष्ट)को हकमा भने सुरक्षा एस्कर्टसहित आवागमनको व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ ।

उच्च पदस्थ व्यक्तिको सवारी हुने दिन एक घण्टा अगाडि नै आन्तरिक टर्मिनलमा पुगी निषेधित क्षेत्रमा प्रवेश गर्ने भीआइपी सवारी साधनको विवरण टिपाएर पास लिनुपर्ने व्यवस्था समेत विमानस्थलले गरेको छ । एयरलाइन्सको चेकइन र लगेजको सुरक्षा जाँच समेत अगाडी नै गर्न विमानस्थलले सूचित गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १२:२१