सूचनाको शक्ति - The Power Of Information

        

बाढीले पुरिएको डेढ करोड रुपैयाँ फेला पर्‍यो

मुस्ताङको वारागुुरुङ मुुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार राति आएको बाढीले पुुर्याएको क्षति ।

मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ ।

आज आइतवार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन गर्ने क्रममा त्यो रकम भेटिएको हो । बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि एक करोड पाँच लाख ३२ हजार नौ सय ६४ रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडलले जानकारी दिनुभयो ।

बाढीले प्रभु बैंकको भवन नै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । एक हप्तापछि आज फेला परेको रकम सुरक्षित नै रहेको उहाँले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक पौडेलले भन्नुभयो, ‘आज गाउँले, सुरक्षाकर्मी र बैंकका कर्मचारीहरूले उत्खनन गर्ने क्रममा पैसा फेला परेको छ, भल्टसँगै पैसा फेला परेको हुँदा पैसा सुरक्षित नै देखियो, बैंकको भवन छुट्टाछुट्टै थिए, त्यसले गर्दा कुन बैंकको पैसा हो भन्ने पत्ता लगाउन सहज भयो ।’

स्रोत : रासस
प्रकाशित मिति : ३ भाद्र २०८०, आइतवार १८:२०