सूचनाको शक्ति - The Power Of Information

        

विद्यार्थीको विदेश मोह

विद्यार्थी नपाएर नेपाली कलेज रित्तै, विदेश पढ्न जानेको लर्काे !

विदेश पढ्न जानेहरुबाट एकै वर्षमा झन्डै डेढ खर्ब रकम बाहिरिएको छ ।

विदेश पढ्न जानेसँगै ठूलो रकम समेत बाहिरिएको छ । उनीहरु आर्थिक वर्ष ०७९–०८० मा एक खर्ब रुपैयाँ लगेका छन् । सो आवमा शिक्षातर्फको व्यय एक खर्ब ४२ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरु संख्या उच्च संख्यामा बढेको छ । सरकारले स्वदेशमै उनीहरुलाई बस्ने वातावरण नगराउँदा पलायन हुने क्रम बढेको हो । पछिल्लो वर्षमा विदेशिने विद्यार्थीको संख्या बढेको तथ्यांकले पनि देखाउँछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखामा उपलब्ध तथ्यांकअनुसार पछिल्ला दुई वर्षमा दुई लाख २७ हजार २१७ जना विद्यार्थी बाहिरिएका छन् ।

आर्थिक वर्ष २०७९–०८० मा एक लाख १० हजार २१७ र २०७८–०७९ मा एक लाख १७ हजार विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि देश छाडेका थिए । कोभिड–१९ को महामारीका कारण त्यसअघिका दुई वर्षमा भने विदेशिने विद्यार्थीको संख्या कम थियो । २०७७–०७८ मा २७ हजार ९०० र २०७६–०७७ मा ३४ हजार ९६ जना मात्रै बाहिरिएका थिए ।

त्यसभन्दा अघि २०७५–०७६ मा एनओसी लिएर बाहिरिने विद्यार्थीको संख्या ६३ हजार २९५ थियो । विदेश पढ्न जानेहरुसँगै ठूलो रकम समेत बाहिरिएको छ । उनीहरु आर्थिक वर्ष २०७९–०८० मा १ खर्ब रुपैयाँ लगेका छन् । सो आवमा शिक्षातर्फको व्यय एक खर्ब ४२ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आव २०७८–०७९ मा पढ्नका लागि विदेश जानेसँगै ६७ अर्ब ७० करोड रुपैयाँ विदेशिएको थियो । विदेश जाने नेपालीले लैजाने पैसा करिब ५० प्रतिशतले बढेको हो । यस आवमा पढ्न जानेहरुले मात्र ३३ अर्ब रुपैयाँ बढी विदेश लगेको नेपाल राष्ट्र बैंकको वार्षिक तथ्यांकमा उल्लेख छ । यस आवमा नेपालबाट भ्रमणमा जानेहरुले ४४ अर्ब रुपैयाँ विदेश लगेका छन् ।

अघिल्लो वर्ष भ्रमणमा जानेहरुले ३० अर्ब रुपैयाँ विदेशमा खर्च गरेका थिए । यत्रो विद्यार्थी बाहिर जाँदा नेपालका कलेमा हाहाकार हुन थालेको छ । नेपाल मेगा कलेजमा स्नातक तहका विभिन्न संकायमा भर्ना हुन आउने विद्यार्थीको संख्या पहिले थेगिनसक्नु हुन्थ्यो । धेरै विद्यार्थी भएर भर्ना लिन नसक्दा फिर्ता गर्नुपर्ने अवस्था हुने गरेकोमा कलेजका उपप्राचार्य मधुकर पाण्डे अहिले विद्यार्थी संख्या नपुगेर भर्ना लिने कि नलिने भन्ने दोधारमा रहेको बताउँछन् ।

काठमाडौँको पद्मोदय मोडस्थित हिमालयन ह्वाइट हाउस कलेजमा स्नातक पढ्न भर्ना हुने विद्यार्थीको संख्या विगतमाभन्दा आधाले घटेको छ । कलेजका प्राचार्य तोयानारायण पौडेलका अनुसार गत वर्ष बायोटेक्नोलोजीमा ४८ जनाको कोटामा १७ जना विद्यार्थी मात्र भर्ना भए । यी त उदाहरणका पात्र हुन, अन्य कलेजको हालत पनि बेहाल हुन थालेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतवार १५:५३