सूचनाको शक्ति - The Power Of Information

        

ललिता निवास प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउँदै सिआइबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ललिता निवासको सरकारी जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ । सीआइबीले अनुसन्धान प्रतिवेदन आज आइतबार सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको हो ।

सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन शुक्रबार नै पेस गर्न ताकेता गरेको थियो । तर, सीआईबीले प्रतिवेदन लेखनको काम भइरहेको भन्दै शुक्रबार प्रतिवेदन पेस गरेको थिएन । सरकारी जग्गा व्यक्तिको बनाउँदा सरकारी कागजात तथा दस्तखत किर्ते भएको प्रकरणमा सीआइबीले अनुसन्धान गरिरहेको छ ।

संगठित रुपमा नै किर्ते भएको कसुरमा सीआइबीले अनुसन्धान गरेको हो । किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न ६० दिनको समय हुन्छ । यो अवधि सकिनै लाग्दा सीआईबीले अनुसन्धान प्रक्रिया टुंग्याएर प्रतिवेदन लेखन पनि लगभग सकेको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउँदा भएको किर्तेको अनुसन्धान सुरु गरेर सीआईबीले असार १२ गते पहिलोपटक आरोपीहरु पक्राउ गरेको थियो । सोही दिनदेखि अनुसन्धान सुरु गरेको मिति मानिने हुँदा अब भदौ ९ गतेभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ ।

त्योभन्दा अघि सरकारी वकिल कार्यालयले पनि फाइल अध्ययन गर्नुपर्ने भएकाले सीआइबीले आज प्रतिवेदन बुझाउने तयारी गरेको हो । यसै प्रकरणमा हाल १८ जना सीआइबीको हिरासतमा रहेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतवार ०९:१२