सूचनाको शक्ति - The Power Of Information

        

१३ बुँदे वसन्तपुर घोषणापत्र जारी गर्दै लुम्बिनीमा सकियो मिडिया सम्मेलन

प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भदौ १ र २ गते बुटवलमा सम्पन्न मिडिया सम्मेलन २०८० ले १३ बुँदे वसन्तपुर घोषणापत्र जारी गरेको छ । लुम्बिनी केबलकारको टप स्टेशन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरबाट वसन्तपुर घोषणा पत्र जारी गरेको हो ।

घोषणापत्रमा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र सञ्चार गृहहरुमा हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकारणका कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।

यस्तै तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चार गृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ ।

लुम्बिनी प्रदेशभित्रका झण्डै २०० मिडियाका सञ्चालकहरुको सहभागिता रहेको सम्मेलनबाट जारी घोषणपत्रमा सरकारले लिँदै आएको विद्युतीय सञ्चारमाध्यमको नविकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाइन, छापा माध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महशुलमा छुटको व्यवस्था अविलम्व शुरु गर्न माग गरिएको छ ।

सरकारले सञ्चार गृहलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्न, रेडियोहरु र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउन, दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन, संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न माग गरिएको छ ।

प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिषेश प्राथमिकताका साथ सहयोग गर्न, बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति शहरका रुपमा विकास र लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनका लागी बुटवल र पाल्पालाई जोड्ने गरी लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकार सञ्चालन भएकाले यसको बजार प्रवद्र्धनमा प्रदेशका सबै सञ्चारमाध्यमले सकारात्मक सहयोग गर्ने र नीजि क्षेत्रलाई प्रदेशस्तरमा अन्य पर्यटकीय पूर्वाधार विकासका लागि थप लगानीको वातावरण सिर्जना गर्न सरकारसंग माग गरिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेको मिडिया सम्मेलनमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, वरिष्ठ पत्रकारहरु कनकमणि दीक्षित, युवराज घिमिरे, डा.बालकृष्ण चापागाई, संघका अध्यक्ष नवराज कुँवर, बीबीसी नेपाली सेवाका माधव नेपाल लगायतले मोफसलका मिडियाको सवलीकरणले मात्रै तीनै तहका सरकार प्रभावकारी ढंगले सञ्चालन हुन सक्ने र लोकतन्त्र सुदृढ हुने धारणा राखेका थिए ।

के छ वसन्तपुर घोषणापत्रमा ?

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतवार ०८:५६