सूचनाको शक्ति - The Power Of Information

        

डोजरे विकासले मुगुका १५० बस्ती उच्च जोखिममा (तस्वीर कथा)

पहिरोले घर बगाएपछि खुला स्थानमा बस्न लगाइएको त्रिपाल । गत वर्ष असोज १९ गते छायानाथ रारा नगरपालिका वडा नम्बर ८ झ्यारी गाँउमा आएको बाढीपहिरोले घर बगाएपछि स्थानीयहरू त्रिपालमुनि बस्दै आएका छन् ।

पछिल्लो समयमा विकास निमार्णको क्रममा जथाभावी डोजर चलाउने प्रवृत्ति बढ्दो छ । भूगोलको अवस्था, वातावरण र माटोको परीक्षण समेत नगरी धमाधम सडक निर्माण गर्दा गाउँघरमा धेरै ठाउँहरुमा जोखिम बढ्दो छ । जसको कारण मुगु जिल्लामा रहेका १५० भन्दा बढी बस्तीहरु पहिरोको उच्च जोखिममा परेका छन् ।

एक नगरपालिका र ३ गाँउपालिकामा रहेको मुगुमा २ ०० भन्दा बढी बस्तीहरु मध्ये १५० बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । यी उच्च जोखिममा रहेका बस्तीमा बस्दै आएका हजारौं नागरिकहरु पहिरोको जोखिम मोलेर जीवन बिताउन बाध्य छन् । गत वर्ष असोज १९ गतेदेखि २४ गतेसम्म आएको ठूलो बाढीपहिरोले घर, धनजन, अन्नसमेत बगाएर लगेपछि घरबारविहीनहरु त्रिपालमुनि खुल्ला चौरमा बस्दै आएका छन् ।

खुल्ला चौरमा बस्दै आएका छायानाथ रारा नगरपालिका वडा नम्बर ८ झ्यारी गाँउका जैमती रावलले भनिन्, ‘आकाशमा बादल लाग्दा राति निन्द्रा लाग्दैन, स्थानीय र अन्य कुनै पनि सरकारले राहत लगायत अन्य कुनै पनि सेवा दिएको छैनन् । गाँउमा बसौं भने गाँउनै पहिरोको जोखिममा छ ।’ बाढी पहिरोले छायाँनाथ रारा नगरपालिका दर्जनौ बस्ती लगायत जिल्ला भरिका धेरै बस्तीहरु पहिरोको उच्च जोखिममा छन् ।

जोखिम बस्तीमा हजारौं नागरिकहरु ज्यान धरापमा राखेर जीवन जिउन बाध्य छन् । स्थानीय वडा,गाँउपालिका, नगरपालिकामा आएको बजेटले उच्च जोखिममा रहेका बस्तीहरुमा विकास निर्माणको कार्य गर्न नसक्ने हुँदा संघीय र प्रदेश सरकारले समयमा जोखिमका बस्तीहरुको सुधारको लागि ध्यान पुर्याउनु पर्ने छायानाथ रारा नगरपालिका वडा नम्बर ५ का वडाध्क्षय राजु सुनारले बताए । मुगु जिल्लाका् भूगोल अन्य जिल्ला भन्दा निकै फरक प्रकृतिको छ ।

बालुवा, गिट्टी, बलौटे माटो रहेको धेरै भिरालो जमिन भएको हुँदा सामान्य आकासे पानी आउँदा बाढी पहिरो आउने सम्भवान हुन्छ । गत बर्ष आएको बाढी पहिरोले पारेको असर यसैको उदाहरण हो। मुगु जिल्ला भरी पहिरोको यस्तै उच्च जोखिममा रहेका १५० भन्दा बढी बस्ती छन्। पहिरो रोकथामका लागि जिल्लामा रहेका सरोकारवाला निकायहरु समयमा लाग्न आवश्यक भएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैविक प्रकोप उदार समितिका अध्यक्ष मोहनबहादुर थापा बताउँछन् ।

 

 

स्रोत : नेपाल न्युज बैंक
प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार १६:०१