सूचनाको शक्ति - The Power Of Information

        

६० किलो सुन प्रकरणमा दावाको बयान : स्वराज र प्रतीकसँग व्यापारिक साझेदारी

हङकङ हुँदै नेपालमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले तीन व्यापारिक साझेदारको नाम खुलाएका छन् । ६० किलो ७१६ ग्राम सुन तस्करी सम्बन्धमा गरिएको सोधपुछका क्रममा उनले केही वर्ष अघिबाटै नेपालका शीर्ष नेताका निकटस्थ व्यक्तिहरुसँग मिलेर काम गरिरहेको बताएका हुन् ।

दावालाई पक्राउ गरेलगत्तै राजस्व अनुसन्धान विभागले उनीसँग सोधपुछ गरेको थियो । त्यसपछि सीआइबीमा बुझाएपछि पनि उनीमार्फत नै सुनको मालिक पत्ता लगाउने प्रयास भइरहेको छ । उनीसँग सीआइबीले बयान लिइसकेको छ । सुरुमा उनीमार्फत नेपालमा तस्करीको सुन ल्याउने गिरोहबीचको कनेक्सन खोज्ने प्रयास अनुसन्धान अधिकारीहरुले गरेका थिए ।

दावासहितले ठमेलमा सञ्चालन गरेको होटेल भियनाबाट सुनको कारोबार भएको भरपर्दाे प्रमाण सीआइबीसँग छ । तस्करीको सुन संकलन र प्रशोधन गर्ने कम्पनीबाट छुटेका हरेक गाडी दावाको होटलमा पुगेको सीसीटीभी फुटेजबाट पनि देखिएको छ । दावासँग केहीको कनेक्सन देखिने प्रमाणहरु राजस्वले मुद्दाको फाइल बुझाउँदा प्रहरीलाई दिएको छ ।

राजस्वले पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने व्यक्तिहरुको बारेमा पनि खुलाएर पठाएको छ । जसमा राजनीतिक दलका नेताहरुकै परिवारका सदस्यको नाम समेत छ । दावाले नेकपा एमालेका दुई जना पदाधिकारीका छोरासँग मिलेर लामो समयदेखि काम गरिरहेको बयानमा बताएका हुन् । दावाले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको भनेका छन् ।

आफूलाई अप्ठेरो पर्दा उनीहरुले नै सहयोग गर्ने गरेको दावाको प्रारम्भिक बयान छ । ‘काठमाडौंको ¥याडिसन होटलको साइडमा रहेको एक रेन्टुरेन्टमा म, मिस ली र स्वराजबीच हाम्रो बिजनेसका बारेमा छलफल हुन्थ्यो,’ दावाको बयान उधृत गर्दै एक अधिकारीले भने, ‘उहाँहरुसँग मिलेरै कोभिडको बेला पनि स्वास्थ्य सामग्री खरिद गर्थ्यौँ । प्रतीक थापा काम गर्न धेरै सहज हुनुहुन्छ ।’

साउन १० गते दावालाई होटल भियनामा छापा मार्दै राजस्वको टोलीले पक्राउ गरेको थियो । पक्राउ लगत्तै उनले नेताका परिवारसँग साझेदारी रहेको खुलाएका थिए । तर, अरु व्यवसायमा साझेदारी रहेको बयानबाट खुले पनि सुन तस्करीमा स्वराज र प्रतीकको संलग्नता खुलेको छैन । राजस्वको अनुसन्धानमा उनीहरु समेत संलग्न रहेको आशंका गरिए पनि सीआईबीले उनीहरुमाथि अनुसन्धान गरेको छैन ।

यसैगरी, दावाले तेस्रो व्यक्तिको नाम पनि लिएका छन् । उनी हुन् रामेछापका किशोर बस्नेत । उनी भने तस्करीमा प्रत्यक्ष संलग्न नै रहेको खुलेको अनुसन्धान अधिकारीहरुको दाबी छ । बस्नेतले तस्करीको सुन गाल्ने कारखाना व्यवस्थापन गर्नेदेखि सुन गाल्ने उपकरण खरिदमा समेत सहयोग गरेको अनुसन्धान अधिकारीले बताए ।

‘दावाको सम्पर्क सूत्र नै किशोर बस्नेत देखिन्छ । विद्युतीय चुरोट (भेप) मा राखेर ९ किलो सुन तस्करी गर्ने गिरोहसँग पनि किशोरको कनेक्सन देखिएको छ । यो प्रकरणमा किशोरनिकट व्यक्तिहरु पनि पक्राउ परेका छन्,’ अर्का एक अधिकारीले भने । किशोर हाल फरार छन् । उनले मोबाइल समेत बन्द गरेको अनुसन्धान अधिकारीले बताए । उनले दावालाई एमालेका अन्य नेतासम्म भेटघाट गराएको अनुसन्धान अधिकारी बताउँछन् ।

दावाले प्रयोग गरेका दुई वटै मोबाइल नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ । त्यसबाट दावाको कनेक्सन को–कोसँग थियो प्रष्ट खुल्ने छ । यद्यपि चिनियाँ व्यक्ति जिक्वाङ लिन पक्राउ परेपछि दावाले मोबाइल फर्म्याट गरेको पाइएको छ । राजस्वबाट रायसहितका केही तथ्य समावेश गरेर पठाइएको प्रतिवेदन अध्ययन गरेर अनुसन्धानलाई तीव्रता दिएको सीआईबीले जनाएको छ । उसले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सुन कसको ?

साउन २ मा ब्रेक सुमा राखेर हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन कसको हो भन्ने अझै खुलिसकेको छैन । सुन बरामद भएदेखि राजस्व अनुसन्धान विभागले १७ दिन यसको अनुसन्धान गरेको थियो । राजस्वले १८ जनालाई हिरासतमा राखेर बयान लिएको थियो । तर, संगठित अपराध, त्रिदेशीय कनेक्सन लगायतका कारण थप अनुसन्धान गर्न सीआइबीलाई जिम्मा दिएको छ ।

उक्त सुन व्यापारी राकेश अदुकियाले नै भित्र्याएको प्रारम्भिक निष्कर्षसहितको प्रतिवेदन राजस्वले सीआईबीलाई बुझाएको छ ।

राकेश अदुकिया टेस्ला गाडीका विक्रेता कम्पनीको लगानीकर्ता हुन् । ‘जसले जे भित्र्याउँछन्, त्यसैमा राखेर सुन तस्करीको काम भएको छ,’ राजस्वका एक अधिकारीले भने, ‘हङकङबाट नेपालमा ६० किलो सुन ल्याउँदा ब्रेक प्याडमा राखिएको छ । मोबाइल कारोबार गर्नेले त्यसमै राखेर सुन ल्याउने गरेको र गुडिया व्यापार गर्नेले गुडियामै राखेर सुन तस्करी गर्दा रहेछन् ।’

हङकङ हुँदै साउन २ गते नेपाल भित्र्याएको सुन राजस्वको टोलीले सिनामंगल पुगेपछि बरामद गरेको थियो । त्यही क्रममा राजस्वले सुनको व्यवस्थापन गर्ने कारखाना सञ्चालन गरिरहेका चिनियाँ व्यक्ति ली जिक्वाङलाई साउन ४ गते पक्राउ गरेको थियो । एक हप्तापछि दावा पक्राउ परेका थिए ।

स्रोत : नेपालखबर
प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ०८:४९