सूचनाको शक्ति - The Power Of Information

        

बाँदर पीडित किसानका दुःख, ‘न समय बच्यो, न मकै’

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँचमुरी मकै भित्र्याएको बारी अहिले बाँदरले रित्तै बनाइदिएको छ । बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस वर्ष मकै भित्र्याउन नपर्ने गरी मकैबाली नष्ट भएसँगै फारमसहित बाँयचौरका सबै किसानको मकैबाली नष्ट भएको हो ।

बाँदरले मकैबारीमा क्षति पुर्याएपछि किसान चिन्तामा परेका छन् । ‘दुई वर्षअघि पाँचमुरी मकै भित्र्याएको थिएँ, गत वर्ष बाँदरले आंशिक क्षति गरेको थियो, अहिले त एउटा बोटमा मकै छैन, मकै हेर्न दिनभरि बारीमा बिताइन्छ, खाना खान घर आएपछि बाँदरले १० मिनेटमै सखाप पार्छ, न समय रह्यो न मकै,’ फारमले भने ।

अहिले बडिगाडको सिसाखानीमा बाँझो जग्गा बढ्दै गएपछि वनका बाँदर गाउँमा आउन थालेका हुन् । सिसाखानीको बाँयचौर, भलामपाटा, सिरबारे, मौरीभिर र गहरा भन्ने स्थानमा बाँझो जग्गा बढ्दै गएको छ । बाँयचौरमा बसाइँसराइ कम भए पनि अन्य स्थानका घर खाली र जग्गा बाँझो हुँदा त्यसको प्रभाव बाँयचौर लगायतका क्षेत्र पर्न गएको हो ।

बाँदरको दीर्घकालीन समस्या नभएर अस्थायी समस्या समाधानका लागि पालिकालाई वडामार्फत जानकारी गराए पनि चासो नदिएको बाँदर पीडित किसानको गुनासो छ । ‘अहिले मकैका घोगा छैनन्, डाँठ पनि गाईभैँसीलाई खुवाउन नमिल्ने गरी बाँदरले सखाप बनाएको छ, सालफेद भन्ने स्थानको जग्गा बाँझो बनेपछि जंगलका बाँदर यहाँ आउन सहज भयो,’ अर्का पीडित किसान जीवन घर्तीले भने, ‘बाँदर हेर्न त गइन्छ, कतिबेला झुक्याएर आउँछ ।’

सिसाखानीका स्थानीय दानबहादुर श्रीसका अनुसार पछिल्लो समय उक्त ठाउँमा बाँदरको समस्या बढ्दै गएको छ । पहिला घरेलु हातहतियार पड्काएर बाँदर धपाउने चलन भए पनि अहिले उक्त चलन नभएकाले बाँदरको संख्यामा वृद्धि भएको छ । बाँयचौर लगायत सिसाखानीका एक दर्जन गाउँमा अहिले बाँदरले सताइरहेको जनाउँदै दानबहादुर श्रीसले बाँयचौर गाउँमा भने भित्र्याउनै नपर्ने गरी मकैबाली सखाप बनाएको बताए ।

बाँदरको समूहले १० मिनेटमा दुई रोपनी मकैबारी सखाप पार्ने गरेको स्थानीय किसानको भनाइ छ । सिसाखानीमा पछिल्लो समय बाँदरको समस्या बढ्दै गएको बडिगाड–३ का वडाध्यक्ष खड्कबहादुर पुनले बताए । उनले बाँदरका कारण किसान अहिले पीडित बनेको बताउँदै पालिकामा राहतका लागि जानकारी गराउने बताए । पालिकाको कृषि शाखामार्फत किसानको क्षतिको तथ्यांक संकलन गर्ने र राहतका लागि पहल गर्ने वडाध्यक्ष पुनको भनाइ छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १५:१८