सूचनाको शक्ति - The Power Of Information

        

सर्वोच्चद्वारा ‘टीकापुर घटना’को मुद्दामा पूर्णपाठ सार्वजनिक

रेशम चौधरीले भने, ‘पलपल मार्नुभन्दा मृत्युदण्ड देउ सरकार’

राज्यले बारम्बार अन्याय गरेर पलपलमा मारिरहेको भन्दै रेशम चौधरीले यस्तो यातनाभन्दा मृत्युदण्ड सयौं गुणा सहज हुनेसमेत प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतले ‘टीकापुर घटना’को मुद्दाको पूर्णपाठ सार्वजनिक गरेको छ । पूर्णपाठ सार्वजनिक भएसँगै नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ । पूर्णपाठमार्फत सर्वोच्चले उक्त घटनालाई ‘क्रुर, अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनेको छ भने रेशम चौधरीको नेतृत्वमै टीकापुर घटना भएको ठहर गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीले गणतन्त्र दिवसको अवसरमा गत जेठ १४ गते राष्ट्रपतिबाट आममाफी पाएका थिए । सर्वोच्चको फैसलापछि रेशमले पाएको आममाफीमै प्रश्न उठेको छ । पूर्वसांसद रेशम यतिखेर अफ्रिका भ्रमणमा छन् । अफ्रिकाबाटै सर्वोच्चले सार्वजनिक गरेको पूर्णपाठले अत्यन्तै मर्माहत बनाएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘सर्वोच्चले सर्वजनिक गरेको पूर्णपाठले अत्यन्तै मर्माहत बनाएको छ । क्षतविक्षत बनाएको छ । हामीले सम्मान गरेका थियौँ, बदलामा अपमान मात्र पाउँदै आएका छौं । हामीले न्याय पाउन सकेनौं ।’ सर्वोच्चको पूर्णपाठले रेशम चौधरीलाई टीकापुर घटनाको मुख्य नेतृत्व भएको ठहर नै गरेको छ ।

तर, बारम्बार घटना भएको दिन आफू त्यहाँ नरहेको भन्दै आएका उनले सर्वोच्चको पूर्णपाठ पछि पनि आफू त्यस घटनाको नेतृत्वकर्ता नभएको दोहोर्याएका छन् । चौधरीले भने, ‘टीकापुरको आन्दोलन उत्पीडन विरुद्धको संघर्ष थियो । नागरिक स्वतः संघर्षमा उत्रेका थिए । म या अरु कसैले नेतृत्व गर्नुपर्ने वा उतार्नुपर्ने अवस्था थिएन ।’

चौधरीले थप भनेका छन्, ‘त्यो घटनाको दिन म त्यहाँ थिइनँ । म त्यहाँ नभएको अनेकौँ तथ्य र प्रमाणहरु छन् । तथ्य र प्रमाणहरुलाई अनदेखा गरेर मलाई नै दोष्ीा देखाइनुले अन्यायको सीमा नाघ्यो । यसले राम्रो परिणाम दिँदैन ।’ राज्यले बारम्बार अन्याय गरेर पलपलमा मारिरहेको भन्दै चौधरीले यस्तो यातनाभन्दा मृत्युदण्ड सयौं गुणा सहज हुनेसमेत प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘अपमान र अन्यायले सीमा नाघ्यो । हामीलाई पलपलमा मारियो । यसरी अन्याय र अपमानले पलपलमा मारिनुभन्दा बरु एकैपटक मृत्युदण्ड दिएर मार्नु उचित हुन्छ । म याचना गर्छु– बरु मृत्युदण्ड दिएर मार हामीलाई, त्यो मृत्यु सहज हुनेछ ।’

कठोर संघर्ष गर्छौ

केन्यामा रहेका चौधरीले केही दिनमै पार्टीको केन्द्रीय समिति बैठक बस्ने र अन्यायविरुद्ध कठोर संघर्षको बाटो तय गर्ने प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म भोलि नै स्वदेश फर्कदैछु । २–४ दिनमै केन्द्रीय समितिको बैठक बसेर कठोर संघर्षको कार्यक्रम तय गर्छौै । हामी अब सहेर बस्ने अवस्थामा छैनौं । अन्याय र अपमानले सीमा नाघ्यो ।’

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १५:१३