सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछाने प्रकरण : पीडित किशोरीको आमाकै उमेर दुईवटा !

जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितको आमाको जन्ममिति यकिन गर्न आदेश दिएका छ । आज (बिहीबार) न्यायाधीश राजकुमार खतिवाडाको एकल इजलासले पीडित किशोरी आमाको नागरिकता झिकाउन आदेश दिएको हो ।

सन्दीपका वकिल मुरारी सापकोटाको अनुसार कतिपय कागजातमा पीडित भनिएकी किशोरीको उमेर र उनकी आमाको उमेर अन्तर ९ वर्षको मात्रै देखिएको भन्दै सो विषय स्पष्ट हुन आमाको नागरिकता वा जन्ममिति खुल्ने कागजात मगाइएको हो ।

उनले भने, ‘आजदेखि निरन्तर सुनुवाइ गर्ने भनिएको थियो । तर पीडितको उमेर सम्बन्धी कागजातमा उनकी आमाकै उमेर दुईवटा देखिएपछि इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ ।’

यसअघि सन्दीपका वकिलहरूले पीडित किशोरीको पनि दुई वटा नागरिकता भएको दाबी गरेका थिए । लामिछाने पक्षले किशोरीको जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा यसअघि नै २४ पटक पेसीमा चढेको थियो । सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १५:०८