सूचनाको शक्ति - The Power Of Information

        

फुकुवा हुँदै कर्णालीको ‘हवाई प्रतिबन्ध’

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीको ‘हवाई प्रतिबन्ध’ फुकुवा गर्ने भएको छ । प्राधिकरणले कर्णालीका विमानस्थलमा साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडानमा बन्देज लगाउने निर्णय हट्ने जनाएको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कर्णाली लगायत दुर्गमक्षेत्रमा देखिएको हवाई उडान समस्या तीन दिनभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कर्णाली प्रदेशका प्रतिनिधिसँग बुधबार भएको भेटमा मन्त्री किराँतीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । एक सातदेखि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प भएको थियो ।

अस्पतालले रिफर गरेर पनि हवाइजहाज र हेलिकप्टर नजाँदा हुम्लामा उपचार नपाएर ४ बालबालिकाको मृत्यु भएको छ । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा कर्णालीका सांसद, राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र पर्यटन व्यवसायीले मन्त्री किराँतीलाई भेटेर समस्या अवगत गराएका थिए ।

मन्त्रालयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि सहभागी थिए । कार्यक्रममा जुम्लाकी सांसद छिरिङ लामा, प्रदेश सांसद कलबहादुर हमाल, पूर्वमन्त्रीहरू मोहन बानियाँ, छक्कबहादुर लामा, दल रावल, कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकाया लगायत सहभागी थिए । पूर्वमन्त्री बानियाँले प्राधिकरणको नेतृत्वले सनकको भरमा लगाएको नयाँ नियम खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।

माओवादी केन्द्रकी नेतृ भीमा केसी बन्जाराले पटक पटक अनुरोध गर्दा पनि प्राधिकरण नेतृत्वले कर्णालीमाथि दमन गर्न खोजेको बताइन् । माओवादी केन्द्र कर्णाली प्रदेशका पर्यटन विभाग प्रमुख मनराज सिम्खडाले महानिर्देशक अधिकारीले कर्णाली लगायत दुर्गमक्षेत्रको विकासमाथि धावा बोल्नुका साथै जनताको जीवनमाथि खेलवाड गरेको बताए । कर्णालीबासीसँगको भेटमा महानिर्देशक अधिकारीले नयाँ नियम लगाउनुपर्ने कारण बताउने प्रयास गरेका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १०:२४