सूचनाको शक्ति - The Power Of Information

        

दश महिना बित्दा पनि लिमीमा पुगेन खाद्यान्न

लिमीको घना बस्ती रहेको हल्जी गाउँ ।

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा दश महिनासम्म खाद्यान्न पुगेको छैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षमा विनियोजित कोटाको खाद्यान्न ढुवानी गर्न नसकेपछि लिमीमा खाद्यान्न नपुगेको हो । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले दश महिना बित्दा पनि लिमीमा खाद्यन्न नपुगेको बताए ।

अघिल्लो आर्थिक वर्षको असोज महिनामा २०० क्वीन्टल खाद्यान्न लिमीमा लिमिटेडले पठाएको थियो । उनले त्यसयता लिमिटेडको खाद्यान्न नपुगेको बताउँदै लिमिटेडको लिमी बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न ५०० क्विन्टलमा २०० क्विन्टल पुगेको भए पनि बाँकी ३०० क्विन्टल खाद्यान्न लिमीमा हालसम्म नपुगेको बताए ।

उनले पटक पठक जिल्ला प्रशासन कार्यालयमार्फत खाद्यान्नको व्यवस्थाका लागि माग गरिएको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको बताए । वडाध्यक्ष तामाङले बिक्री केन्द्रको खाद्यान्न लिमीमा नपुगेपछि हाल लिमीमा खाद्यान्न समस्या देखिएको देखिएको बताए । हिल्सा नाका सञ्चालनमा आएको भए पनि मैदा र चामल आवश्यकताका आधार ल्याउन नपाइए पनि लिमीमा खाद्यान्न समस्या देखिएको हो ।

लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले निर्धारित कोटाको सबै खाद्यान्न पुर्याउन नसकिएको स्वीकार गर्दै हिउँमा हिमपातको कारण खाद्यान्न लिमी ढुवानी गर्न नसकिएको र हाल शाखासँग समेत खाद्यान्न मौज्दात कम भएको कारण खाद्यान्न पुर्याउन नसकिएको बताए ।

उनले अब काठमाडौँबाट केरुङ नाकाबाट तिब्बत हुँदै ढुवानी गर्न लागिएको र सो खाद्यान्न मध्य लिमीको बाँकी रहेको कोटाको खाद्यान्न हिल्साबाटै वितरण गरिने बताए । लिमीका तीन गाउँ तील, हल्जी र जाङ गाउँका २१३ घरधुरीका एक हजार २०० भन्दा बढी छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १६:०८