सूचनाको शक्ति - The Power Of Information

        

आँखा पाक्ने रोगको औषधि अभावले बिरामी मर्कामा

बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ ।

आँखा पाक्ने रोगका बिरामीलाई औषधि अभाव भएको राप्तीसोनारी अस्पतालका प्रमुख चिकित्सक डा.राम साहले बताए । उनका अनुसार १० दिनमा २७३ जनाको आँखाको उपचार गरिएको छ ।

‘अस्पताल तथा स्वास्थ्य चौकीमा औषधि अभाव छ । बिरामी त्यसै घर फर्किन बाध्य छन्,’ डा साहले भने, ‘पालिकाकै एक मात्र राप्तीसोनारी अस्पतालमा दैनिक सयौँ आँखाका बिरामी आउने गर्छन् । तर दुर्भाग्य आँखामा हाल्ने औषधि छैन ।’

राप्तीसोनारी–३ आधारभूत स्वास्थ्य चौकीका इन्चार्ज हिरामणि गरौ थारूले सबैलाई आँखामा हाल्ने औषधि दिन नसकेको बताए । विनौना स्वास्थ्य चौकीका इन्चार्ज सन्दीप चौधरीले यही साउन २१ गतेदेखि ३० गतेसम्म १५८ बिरामी उपचार गर्न आएको बताए ।

राप्तीसोनारीका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जिल्लामै औषधि अभाव भएकाले स्वास्थ्य चौकीमा समेत त्यसको असर परेको बताए । उनले भने, ‘जिल्लामै औषधि अभाव भएको छ ।’

राप्तीसोनारीका अध्यक्ष तप्तबहादुर पौडेलले बिरामीको सङ्ख्याअनुसार स्वास्थ्य चौकीमा औषधि पुर्याउन नसकिएको बताए । उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय र बजारमा औषधि अभाव भएका कारण पालिकाका स्वास्थ्य चौकीमा पनि त्यसको असर देखिएको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १२:५४