सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

तीन वटा प्रदेशमा बिहानैदेखि वर्षा, नदी तथा खोलामा बाढीको जोखिम

न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर, आज केही नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।

देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । बिहानैबाट केही क्षेत्रमा वर्षा भइरहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाको समेत सम्भावना रहेकाले नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु पर्ने विभागले बताएको छ ।

न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहँदा आजबाट वर्षा कम हुने भएको छ । शनिबार र आइतबारको तुलनामा आज कम वर्षा हुनेछ । ‘आजबाट मौसममा केही सुधार हुनेछ । बिहानबाट देशका केही स्थानमा घाम पनि लागेको छ,’ मौसमविद् रोजन लामिछानले भने, ‘मनसुन सिजन भएकाले पानी नै नपर्ने भन्ने त हुँदैन । हल्कादेखि मध्यम वर्षाको सम्भावना हुन्छ । तर, शनिबार र आइतबारको जस्तो भारी वर्षा र निरन्तर झरी भने हुँदैन ।’

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहँदा नेपालमा मनसुनी गतिविधि कम हुन्छ । केही दिन अगाडि देशभर एकैसाथ वर्षा हुँदा न्यूनचापीय रेखा नेपालमै थियो । ‘मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) रहेको समय देशका धेरै स्थानमा वर्षा हुन्छ,’ रोजन भन्छन्, ‘तर, अहिले यो उत्तरतिर मात्रै छ, त्यसैले मौसममा केही सुधार भएको हो ।’

बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको प्रभाव पनि अहिले नरहेकाले मनसुनको गतिविधि कम हुँदै गएको हो । यसैबीच, आज बिहान काठमाडौंका धेरै स्थानमा घाम लागेको छ । दिउँसो भने वर्षाको सम्भावना रहेको लामिछानेले जानकारी दिए । त्यस्तै केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले आज केही नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, कास्की, लमजुङ, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा, कन्चनपुर र आसपास भएर बहने नदी तथा खोलामा बहाव बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा तल रहेको छ । आगामी तीन दिन कोसी, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार ०९:३७