सूचनाको शक्ति - The Power Of Information

        

महाकाली नदीको जलसतह खतरा नजिक, सवारी आवतजावत बन्द

महाकाली नदीको जलसतह बढेपछि शारदा ब्यारेजमा रहेको बनबासा पुलमा चारपाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ ।

पुल जीर्ण भइसकेका कारणले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि नाघेपछि चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा बन्देज लगाउने गरिन्छ ।

सोमबार बिहान ५ बजेदेखि महाकाली नदीको जलसतह उठ्न सुरु भएको हो । अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ८३ हजार ९५० क्युसेक पुगेको छ भने जलसतह बढ्ने क्रममै छ ।

जल तथा मौसमविज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले डडेल्धुराको परिगाउँस्थित महाकाली नदीमा राखेको जल मापन प्रणालीका अनुसार नदीमा पानीको मात्रा खतराको तह नजिक पुगेको जनाएको छ ।

विभागको बाढी अनुगमन प्रणालीका अनुसार अहिले डडेल्धुराको परिगाउँमा पानीको बहाव ६.८४ मिटर मापन गरिएको छ । सो ठाउँमा जलस्तर ७ मिटर पुगेमा खतराको तह मानिन्छ भने ५.८ मिटरमै सतर्कताको तह मानिन्छ ।

अहिले महाकाली नदीको तटीय क्षेत्रमा वर्षा भइरहेको छ । दार्चुलामा पछिल्लो २४ घण्टामा ५२.८, बैतडीमा ५० र डडेल्धुराको जोगबुडामा ९३.६ मिलिलिटर वर्षा भएको विभागको प्रणालीले देखाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १७:३४