सूचनाको शक्ति - The Power Of Information

        

श्रीमानलाई काले भनेपछि सम्बन्धविच्छेद !

श्रीमतीले श्रीमानलाई उनको कालो वर्णका कारण अपमान गर्छिन् भने त्यो सम्बन्धविच्छेदको बलियो आधार हुने अदालतले बताएको छ । कर्णाटक उच्च अदालतले कुनै पुरुषकी श्रीमतीले कालो वर्णका कारण उनको अपमान गरेको खण्डमा त्यो सम्बन्धविच्छेदको लागि अपिलका लागि बलियो आधार भएको बताएको छ ।

उच्च अदालतले ४४ वर्षीय एक व्यक्ति र उनकी ४१ वर्षकी श्रीमतीसँग सम्बन्धविच्छेदको मन्जुरी दिँदै यस्तो टिप्पणी गरेको हो । अदालतले भनेको छ, ‘अभिलेखमा भएका प्रमाणले यो निष्कर्ष निकाल्न सकिन्छ कि श्रीमतीले कालो वर्णका लागि श्रीमानलाई अपमानित गर्थिन् र यसै कारण अन्य कुनै कारण बिना उनी श्रीमानबाट अलग बसिरहेकी थिइन् ।’

उच्च अदालतले भन्यो, ‘यो पक्ष लुकाउने उद्देश्यले श्रीमतीले श्रीमानमाथि अवैध सम्बन्ध रहेको झूटा आरोप लगाएकी छिन् । यी तथ्यले क्रूरता देखाउँछ ।’ यो जोडीले सन् २००७ मा विवाह गरेका थिए र दुवैका एक छोरी पनि छन् । सन् २०१२ मा श्रीमानले बैंगलोरको पारिवारिक अदालतमा सम्बन्धविच्छेदको लागि निवेदन दिएका थिए । श्रीमान् र ससुराले दाइजो मागेको र छोरीसहित घरबाट बाहिर निस्कन नदिएको महिलाले आरोप लगाएकी थिइन् ।

श्रीमतीले श्रीमानको अर्की महिलासँग अवैध सम्बन्ध रहेको र उनीहरू दुवैको एक सन्तान रहेको पनि आरोप लगाएकी थिइन् । सन् २०१७ मा पतिको सम्बन्धविच्छेदको निवेदन पारिवारिक अदालतले खारेज गरिदिएपछि उनी उच्च अदालत गएका थिए । उच्च अदालतले भन्यो, ‘श्रीमतीले श्रीमान् भए ठाउँ फर्किन कुनै पनि कोसिस गरिनन् र अभिलेखमा रहेका प्रमाणले यो पुष्टि गर्छ कि महिलालाई आफ्ना श्रीमानको कालो वर्णका कारण विवाहमा कुनै रुचि थिएन ।’

स्रोत : एजेन्सी
प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १७:१३