सूचनाको शक्ति - The Power Of Information

        

‘सक्कली’ डाक्टर ‘नक्कली’ भनेर पक्राउ पर्नु मेडिकल काउन्सिलको कमजोरी !

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ‘नक्कली डाक्टर’विरुद्धको कारबाहीका क्रममा ‘सक्कली’ डाक्टर पक्राउ परेको घटनामा नेपाल मेडिकल काउन्सिलको ‘कमजोरी’ रहेको औंल्याएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै सीआइबीले मेडिकल काउन्सिलले उपलब्ध गराएको विवरणका आधारमा डा. रन्जितकुमार यादवलाई पक्राउ गरिको बताएको छ । तर काउन्सिलले पछि भुलबस ‘गलत’ विवरण उपलब्ध गराइएको भनेर पत्र पठाएपछि उनलाई रिहा गरिएको सीआईबीले जनाएको छ ।

सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले यसअघि २०७८ मंसिर २८ गतेको पत्रमा मेडिकल काउन्सिलले भुलबस रन्जितकुमार यादवको नाम उल्लेख भएको भनेर दोस्रो पत्र पठाएको जानकारी दिए ।

‘काउन्सिलमा दर्ता भएका चिकित्सक रंजित कुमार यादव, विश्वनाथ यादवको छोराको दर्ता प्रमाण पत्र र आवेदन फारम भुलबस संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको भनेर पत्र आएपछि हाल पक्राउ परेका डा रंजित कुमार यादव वास्तविक प्रतिवादी नभएको यकिन भएको हो,’ सीआइबी प्रवक्ता एसपी अधिकारीले भने ।

यादवलाई आइतबार राति सीआइबीले हिरासत मुक्त गरिएको थियो । उनलाई जिम्मा जमानीमा छाडिएको एसपी अधिकारीले जानकारी दिए । एसएलसी तथा प्रमाणपत्र तहमा नक्कली प्रमाणपत्र तह बनाएर चिकित्सा शिक्षाको योग्यता हासिल गरेको पाइएपछि सीआइबीले ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको थियो ।

जसक्रममा साउन २५ गते नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य रहेका मेडिकल व्यवसायी सुनिल शर्मा पक्राउ परेका थिए । सीआइबीले शुक्रबारसम्म आठ जना ‘नक्कली डाक्टर’लाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये प्रतिनिधिसभा सदस्य शर्मा बाहेक अन्यलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप अनुमति दिएको थियो ।

अदालतले अनुसन्धानका लागि म्याद थप गरेपछि डाक्टर यादव सक्कली भएको पाइएको थियो । नेपाल चिकित्सक संघले भने गलत विवरण उपलब्ध गराउने मेडिकल काउन्सिल र सीआइबीका अनुसन्धान अधिकारीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग गरेको छ ।

मेडिकल काउन्सिलजस्तो नियमनकारी निकायबाट चिकित्सकहरुको गलत विवरण सीआइबीलाई उपलब्ध गराउनु तथा कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी पक्राउ गरेर समाजमा त्रसित वातावरणको सिर्जना गर्ने काम भएको संघले जनाएको छ ।

संघका महासचिव सञ्जिव तिवारीले विज्ञप्ति जारी गर्दै यो घटनालाई गम्भीर रुपमा लिइन कानुनी कारबाही अगाडि नबढाइ चिकित्सक संघ कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १५:४३