सूचनाको शक्ति - The Power Of Information

        

देशभर ८७ प्रतिशत धान रोपाइँ, लुम्बिनीमा बढ्यो, अन्यत्र घट्यो

देशभर ८७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाका अनुसार साउन २६ गते सम्म ८६ प्रतिशत धान रोपाइँ सकिएको हो ।

गत वर्षको तुलनामा सात प्रतिशतले धान रोपाइँ घटेको छ । गतवर्ष साउन २८ गतेसम्म ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । मनसुन ढिलो सुरु भएको र रासायनिक मल सहज उपलब्ध नहुँदा धान रोपाइँ घटेको मन्त्रालयको अनुमान छ ।

यस वर्ष मधेस, वाग्मती, गण्डकी प्रदेशमा रोपाइँमा कमी आएको छ । तर, विस्तारै मनसुन सक्रिय भएसँगै रोपाइँ बढ्ने मन्त्रालयले जनाएको छ । मुलुकभर साउन मसान्तसम्म ९२–९५ प्रतिशतसम्म रोपाइँ हुन मन्त्रालयको प्रक्षेपण छ ।

लुम्बिनीमा बढ्यो, अन्यमा घट्यो

मन्त्रालयका अनुसार तुलनात्मक रूपमा लुम्बिनी प्रदेशमा धान रोपाइँ बढेको छ । अन्य प्रदेशमा रोपाइँमा कमी आएको छ । लुम्बिनीमा गत वर्षको तुलनामा तीन प्रतिशतले रोपाइँ बढेको हो । लुम्बिनीमा २६ गतेसम्ममा ९३ प्रतिशत धान रोपाइँ भएको छ ।

जबकि, अघिल्लो वर्ष ९० प्रतिशतमात्र भएको थियो । मन्त्रालयको अनुसार कोसी प्रदेश साउन २५ गते सम्म ९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गतवर्ष सोही समय अवधिमा ९४ प्रतिशत धान रोपाइँ भएको थियो ।

मधेस प्रदेशमा गतवर्षको तुलनामा यसवर्ष २५ प्रतिशतले घटेको छ । उक्त प्रदेशमा १९ गतेसम्म ६८ प्रतिशत सम्पन्न भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

यस्तै, वाग्मतीमा १२ गतेसम्ममा ८८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्षमा ९७ रोपाइँ सम्पन्न भएको थियो । गण्डकीमा पनि धान रोपाइँ घटेको छ । गण्डकी साउन २६ गतेसम्म ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

अघिल्लो वर्ष ९७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । कर्णालीमा २५ गते ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही समयमा ९९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । सुदूरपश्चिममा १२ गते ९९ धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष शतप्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १५:२३