सूचनाको शक्ति - The Power Of Information

        

भेरी नदीमा बाढी, पानीको बहाव खतराको तहमाथि पुग्यो

निरन्तर परेको अविरल वर्षाका कारण भेरी नदीमा बाढी आएको छ । नदीमा पानीको बहावले खतराको तह पार गरेको छ । नदीमामा आएको बाढीले खतराको तह पार गरेपछि तटीय क्षेत्रका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अपील गरेको छ ।

पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहावले खतराको विन्दु पार गरेपछि उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले हाइअलर्ट जारी गरेको हो । भेरी नदीको जाजरकोट जिल्लाको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भेरी करिडोरभित्र बग्ने भेरी नदीको पानीको बहाव पनि बढेको छ । अहिले भेरी नदीमा पानीको बहाव सात दशमलव ६९ मिटर पुगेपछि महाशाखाले अनुरोध गरेको छ । भेरी नदीमा सात मिटर पानी आएमा चेतावनी र आठ मिटर पुगे खतरा मानिन्छ र चेतावनी दिने गरिन्छ ।

भेरी नदीको किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरङ्गा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँ लगायतका बस्ती जोखिमका बस्ती हुन् । यहाँ नागरिकलाई नदीमा बाढीको बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित स्थानमा जान भनिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनकाअनुसार स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर सावधानी अपाउन अपिल गरिएको छ । स्थानीय प्रशासनले बिहीबार नै सूचना जारी गर्दै दशैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने र यसबाट भूक्षय लगायतका विपद्हरुबाट मानवीय तथा आर्थिक क्षति हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।

‘विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरी खोज, उद्दा तथा राहतका लागि मातहतका निकायलाई तयारीमा अवस्थामा राखेका छौं,’ रिजालले भने । भेरी नदीमा बाढीको जलस्तर बढेपछि भेरी–बबई डाइभर्सन आयोजनाको ड्याम निर्माणस्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित स्थानमा सार्न थालिएको रक्तकाली गण बाँगेसिमल सुर्खेतका एसपी विमल डाँगीले जानकारी दिए ।

उनले नदीमा बाढी बढ्ने अलर्ट जारी भएसँगै किनारामा रहेका निर्माण सामग्री सारिरहेको बताए । रत्न राजमार्गको भेरी पुलमा रहेको बाढी मापकका अनुसार नदीमा अझै पानीको बहाव बढ्दो क्रममा रहेकोले तल्लो तटिय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १४:५८