सूचनाको शक्ति - The Power Of Information

        

फरार ‘हत्यारा’ खोज्दै जाँदा भेटिए जेलमा

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त खोज्दै जाँदा जेलमा भेटिएका छन् । कर्तव्य ज्यान सूचीमा फरार रहेका ती व्यक्ति भने चोरी केसमा जेल बसेको खुलेको छ । व्यक्ति हत्या गरेर चोरी केसमा जेल बस्ने व्यक्ति हुन्, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखरा घर भएका ४६ वर्षीय शिवराम अधिकारी ।

हत्या आरोपमा फरार रहेका उनी चोरी केसमा केन्द्रीय कारागार सुन्धारामा रहेको खुलेको छ । २०७४ पुस २९ गते अधिकारीले मकवानपुरको मनहरा गाउँपालिका–३ घर भएकी ज्यामी काम गर्दै आएकी ५० वर्षीया अप्सरा भनिने नारायणी अधिकारीको हत्या गरेको आरोप छ । अप्सराको शव काठमाडौंको बल्खुस्थित भुवनेश्वरी मन्दिर पछाडिको बोक्सी दहमा फेला परेको थियो ।

उक्त हत्यामा अधिकारीको संलग्नता खुलेको देखिए पनि प्रहरीको रेकर्डमा उनी फरार थिए । उनै फरार रहेका अधिकारीको खोजी गर्ने क्रममा उनी चोरी केसमा कारागारमा रहेको खुलेको हो । अहिले कारागारमा रहेका अधिकारीको खोजी गर्ने क्रममा पछिल्लो समयमा उनी रामकोटमा तरकारीको टनेल सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

उक्त स्थानमा गएर अधिकारीको फोटो देखाउँदै स्थानीयलाई सोधपुछ गर्दा अहिले नभएको तर उनी बस्ने टहरा देखाएका थिए । त्यसपछि थप क्लु पाएको प्रहरीले अनुसन्धान गर्दै गर्दा शिवरामको श्रीमतीको नम्बर समेत फेला पारेको थियो । उक्त नम्बरमा कारागार कार्यालय सुन्धाराको नम्बरबाट बारम्बार सम्पर्क हुने गरेको देखिएको थियो ।

यस विषयमा थप बुझ्ने क्रममा शिवरामकी श्रीमती नानिमायाले कारागारमा सम्पर्क गरेका व्यक्ति अर्जुन अधिकारी रहेको भन्ने बुझिएको थियो । यस विषयमा थप पुष्टि तथा बुझ्ने क्रममा उनलाई थानकोट प्रहरीले २०७९ कात्तिक ६ गते चोरी कसुरमा पक्राउ गरेको थियो । पछि अदालत उनलाई तीन वर्षको कैद सजाय सुनाएको पाइयो ।

त्यसपछि कारागारबाट अर्जुन अधिकारीको फोटो मगाएर हेर्दा शिवरामसँग मेल खाएको उनी अर्जुनको नाममा चोरी घटनामा कैद भुक्तान गरेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले बताए । यस सम्बन्धमा पीडितको तर्फबाट जाहेरी लिएर अहिले प्रहरी वृत्त कालिमाटीबाट थप अनुसनधान अघि बढाइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १४:२५